
धनुषा । नागरिक र उद्योगी व्यवसायीहरुले शसस्त्र द्वन्द्वका बेला विस्थापित भएका छोटी भन्सारहरु पुनर्स्थापनाको माग गरि रहेकै बेला धनुषामा भएको पनि हटाइएको छ ।
खुला सीमाना र अवैध आयातका कारण उद्योग व्यवसाय धराशायी हुँदै गएको र सर्वसाधारणलाई आयात गर्न समेत असहज भई रहेका कारण सिमा नाकामा कडाइ गर्नुका साथै विस्थापित छोटी भन्सार पुनर्स्थापनाको माग भई रहेको बेला धनुषाको भडरीया र महुवामा रहेका छोटी भन्सार हटाएको हो ।
भएका छोटी भन्सार पनि हटाएपछि ५ हजारको सामान आयात गर्नुपर्दा पनि मुल भन्सार कार्यालयमा सामान लिएर जानु पर्ने बाध्यताका कारण समय बढी लाग्ने र ढुवानी खर्च समेत बढने भएकाले सर्वसाधारण मर्कामा परेका छन ।
सर्वसाधारण नागरिक र सानातिना खुद्रा व्यपारीहरुको सहजताका लागि २०२० साल अघि स्थापना भएको दुवै छोटी भन्सार कार्यालयलाई ५ हजारसम्मको भन्सार काटने अनुमति रहेको थियो । मन्त्री परिषदको निर्णय पछि विभागको निर्देशानुसार छोटी भन्सार हटाइएको जनकपुर भन्सार कार्यालयका प्रमुख मानबहादुर पौडेलको दावी छ । तर यता अहिलेसम्म त्यस्तो कुनै प्रकारको निर्देशन नभएको भन्सार विभागका सुचना अधिकारी किशोर बर्तौलाले बताउनुभयो ।
नेपाल संग जोडिएको सिमानामा हाल रहेका १ सय ३८ मध्ये १९ वटा बाहेक सबै छोटी भन्सार हटाउने चर्चा रहेपनि हालसम्म कुनै पनि त्यस्तो निर्णय नभएनि धनुषाको भडरीया र महुवाको भने हटाईएको छ । मधेशका अन्य जिल्लाहरुमा रहेका छोटी भन्सार भने यथावत नै रहेको छ ।