
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रति तोला तीन लाख रूपैयाँ नाघेको छ ।
शुक्रबार एकै दिन सुनको मूल्य तोलामा ९ हजार २ सय रूपैयाँले बढेको हो । शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रूपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहिबार सुनको मूल्य प्रति तोला २ लाख ९२ हजार २ सय रूपैयाँ थियो ।
अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनमा लगानी गर्दा सुरक्षित महशुस गरेका कारण मूल्य बढेको अर्थशास्त्री तथा व्यवसायीहरूले बताएका छन् । सुनको मूल्य आकासिएसँगै घरेलु बजारमा सुनको बिक्री सुस्त बनेको छ । दैनिक २० किलो बिक्री हुने गरेकोमा अहिले आधा पनि कारोबार हुन सकेको छैन ।