दैलेख । कोहलपुर-सुर्खेत हुँदै दैलेखको चुप्रासम्म ६ वर्ष अघिदेखि १३२ केभी विद्युत् प्रसारण लाइन निर्माणाधीन छ ।
आयोजनासँग जोडिएका विवादहहरू समाधान भएसँगै अहिले कामको तिव्रता बढेको छ । ३७ वर्ष पुरानो संरचनाबाट हाल सुर्खेतसहित कर्णालीका सात जिल्लामा विद्युत् प्रसारण हुन्छ । यसले लो-भोल्टेज र अरू विभिन्न प्राविधिक समस्या उत्पन्न हुँदा बिजुली राम्रोसँग उपयोग गर्न नपाएका कर्णालीका उपभोक्त्ताहरूमा १३२ केभी प्रसारण लाइन सञ्चालन आएमा गुणस्तरीय बिजुली उपभोग पाउने आशा जगाएको छ ।
हिउाद लागे लो भोल्टेज अनि जेठमास र बर्खामा हावा-हुरी र पानीले संरचनामा क्षति गराउँदा राम्रोसँग विद्युत् उपयोग गर्न नपाएका कर्णालीबासीलाई नेपाल विद्युत् प्राधिकरणले टावरलाइन निर्माणको काम धमाधम गरिहेको छ । जग्गा अधिग्रहण, वन क्षेत्रको रूख कटानमा विवाद र निर्माण सामग्री ढुवानीमा समस्यालगायतले ढिलो भएको काम यी विवाद समाधान हुँदै गएपछि सुर्खेत क्षेत्रमा काम अन्तिम चरणमा छ भने दैलेख क्षेत्रको ५० प्रतिशत काम सकिएको छ ।
दैलेख क्षेत्रको रूख कटानबारे मन्त्रिपरिषद्ले चाँडै निर्णय गरिदिएमा ८ देखि ९ महिनाभित्र सबै काम सकिने छ । दैलेख क्षेत्रमा विद्युत् विस्तारका लागि १०१ वटा टावर निर्माणका गर्नुपर्छ । त्यसका लागि ३१ जना स्थानीयको ६९०२ वर्ग मिटर जग्गा विद्युत प्राधिकरणले अधिग्रहणको काम अन्तिम चरणमा पुर्याएको छ । जग्गा अधिग्रहणसँगै टावरहरू धमाधम बनिरहेका छन् ।
पुराना र जीर्ण होचा पोल, हावा-हुरी र अन्य प्रकृतिक विपद्बाट हुने क्षतिले विद्युत् वितरण प्रणालीमा गडबड हुँदा कहिल्यै गुणस्तरीय बिजुली उपभोग गर्न नपाएका कर्णाली बासीलाई १३२ केभी लाइनले ठूलो राहत दिने दाबी विद्युत् प्राधिकरणको छ ।कर्णाली प्रदेशमा ८२ प्रतिशत जनसंख्यामा मात्रै राष्ट्रिय प्रसारण र वैकल्पिक विद्युत् सेवाको पहुँचमा छन् ।
भौगलिक विकटता र सरकारी काममा ढिलासुस्तीले नागरिक अँध्यारोमा बस्न बाध्य छन् । कुल ७० करोड लागतमा निर्माण भइरहेका २६३ वटा टावरबाट पुग्ने बिजुलीको वितरण प्रणाली सुदृढ गर्न सुर्खेत र दैलेखमा सबस्टेसन निर्माणको काम अन्तिम चरणमा छ ।