एमसीए नेपालअन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता

पुस ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमसीए नेपालअन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता

काठमाडौं । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालअन्तर्गत दुई महत्वपूर्ण सडक आयोजनाका लागि सम्झौता भएको छ ।

सम्झौताअनुसार धान खोला–लमही सडक खण्ड स्तरोन्नति कार्यका लागि फुल डेप्थ रेक्लेमेसन तथा सुपरपेभ प्रविधि प्रयोग गरिनेछ । साथै, सोही सडक खण्डको स्तरोन्नति कार्यको सुपरीवेक्षणका लागि परामर्श सेवा र नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि डिजाइन तथा निर्माण सुपरीवेक्षण सेवासम्बन्धी सम्झौता पनि गरिएको छ । 

सडक मर्मत आयोजनाअन्तर्गत सम्पन्न हुने यी परियोजनाले सडकको दिगो सुधार, यातायात सुरक्षामा वृद्धि तथा आवागमन सहज बनाउने अपेक्षा गरिएको छ । एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले धानखोला लमहीको ४० किमि क्षेत्रमा फुल डेप्थ रेक्लेमेसन टेक्नोलोजिबाट मर्मत गरिने जानकारी दिनुभयो । 

उहाँकाअनुसार त्यो निर्माणलाई सुपरभाइज गर्ने कन्सल्टिङ ठेक्का समेत गरिएको छ । त्यससम्बन्धी सम्झौता आदानप्रदान पनि गरिएको उहाँकाे भनाइ छ । यो सम्झौता दुई वर्षको हो । २४ महिनामा सबै काम सकिनुपर्ने बताइएकाे छ । २४ महिनाभित्र धान खोला–लमही क्षेत्रको पूरै मर्मत कार्य सक्ने र मुग्लिन नारायणघाटको नयाँ प्रविधिअनुसार डिजाइन गरिनेछ । 

विष्टकाअनुसार धानखोला लमहीको मर्मतका लागि दुई करोड अमेरिकी डलर अर्थात् करिब तीन अर्ब लागत लाग्नेछ । त्यसको सुपरभिजन कन्सल्टिङ ठेक्काका लागि ३७ लाख अमेरिकी डलर अर्थात् ५० करोड खर्च हुने अनुमान छ । विष्टले पाँच वर्षको निर्धारित समयभित्रै परियोजना सक्नेगरी कामहरू अघि बढेको समेत बताउनु भयो । 

उहाँकाअनुसार २ वर्ष ४ महीना बितिसकेकाले बाँकी अवधीमा परियोजनाहरू सकिनेछ । एमसीए नेपालले समयमै परियोजनाहरू सकिने बताए पनि आयोजनाहरूको प्रगति हेर्दा निर्धारित अवधिमै सकिनेमा संशय कायमै छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.