रामेछाप । कम मिहिनेत, राम्रो आम्दानी र बजारको झन्झट नहुने व्यवसायको खोजीमा रहेका रामेछापका किसानहरू पछिल्लो समय मौरीपालनतर्फ लागेका छन् ।
बजार सुनिश्चितताले मौरीपालन किसानको आयआर्जनको भरपर्दो आधार बन्दै गएको छ । रामेछाप सुनापति-५ लिङ्गेडाँडाका लालबहादुर मानन्धर लामो समयदेखि माहुरीपालनमा संलग्न हुनुहुन्छ । उहाँले ‘सुनापति मौरी पालन फार्म’ दर्ता गरी व्यवसायिकरूपमा मौरीपालन गरिरहनुभएको छ ।
पहिले परम्परागत शैलीमा मौरीपालन गर्ने मानन्धरले सामुदायिक विकास समाज सीडीएसबाट तालिमसहित मौरी, घार, औजार–उपकरण र प्राविधिक सहयोग प्राप्त गरेपछि आफ्नो व्यवसायलाई आधुनिक ढङ्गबाट विस्तार गर्न सफल हुनुभएको हो । मानन्धरले यो वर्ष हालसम्म १५० केजी मह उत्पादन गरिसक्नुभयो ।
उत्पादित मह प्रतिकेजी एक हजार २०० रूपैयाँमा घरबाटै ठाउँबाट बिक्री हुने गरेको छ । मानन्धर रूपाकोट मौरी पालन कृषक समूहका अगुवासमेत हुनुहुन्छ । हाल उक्त समूहमार्फत सेराना र मेलिफेरा जातका एक हजार पाँच सयभन्दा बढी घार मौरी पालिँदै आएको छ । समूहले सुनापति गाउँपालिका-५ को खनियापानी क्षेत्रलाई मौरीपालन पकेट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित काम गरिरहेको छ ।
मन्थली नगरपालिका-१ का चन्द्रबहादुर मानन्धर पनि विगत डेढ दशकदेखि मौरीपालनमा सक्रिय हुनुहुन्छ । गत वर्ष तीन सय किलोभन्दा बढी मह उत्पादन गरेका मानन्धरले यस वर्ष मह र मौरीका घार बिक्रीबाट मात्रै १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा राख्नुभएको छ । यो वर्ष हालसम्म उहाँले २ लाखभन्दा बढी कमाइसक्न्भयो।
पछिल्लो एक दशकमा सुनापति गाउँपालिका र मन्थली नगरपालिकामा मौरी पाल्ने किसान उल्लेख्यरूपमा बढेको अनुभव उहाँलाई छ । रामेछापमा पछिल्लो समय मौरी पालन व्यवसायप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ । कम लगानीमा निरन्तर आम्दानी गर्न सकिने र बजारको समस्या नभएपछि मौरीपालन किसानको लागि लाभदायक पेसा बनेको हो ।
हाल रामेछापमा व्यावसायिक रूपमा पालिएका तीन हजार भन्दा बढी मौरी घार रहेका छन् । जिल्लामा प्रतिवर्ष ५० टन भन्दा बढी मह उत्पादन हुन्छ । यसले रामेछापका ग्रामीण किसानको जीवनस्तर उकास्दै लगेको छ ।