कञ्चनपुरमा बर्षेनि गहुँ खेतीको क्षेत्रफल घट्दो

बढ्दो बसाइँसराइ, तीव्र शहरीकरण र जमिनको खण्डीकरण मुख्य कारण
मंसिर २८, २०८२ |हरिश्चन्द्र बाग
कञ्चनपुरमा बर्षेनि गहुँ खेतीको क्षेत्रफल घट्दो

कञ्चनपुर । कञ्चनपुर तराईको उर्वर माटो भएको क्षेत्र हो । 

दशकौंदेखि गहुँ उत्पादनमा अग्रस्थानमा रहे पनि पछिल्लो दशकमा भने यहाँ गहुँको खेती कम हुँदै गएको छ । बढ्दो बसाइँसराइ, तीव्र शहरीकरण र जमिनको अस्वभाविक खण्डीकरणले खेतीयोग्य जमिन मासिँदै गएको छ । बाँकी रहेको खेतीयोग्य जमिनमा पनि किसानहरूले उखु खेतीलाई प्राथमिकता दिँदा गहुँ उत्पादन हुने क्षेत्र घट्दै गएको हो ।

कञ्चनपुर जिल्ला गहुँ खेतीका लागि उपयुक्त जमिन भएको क्षेत्र हो । तर पछिल्लो समय पहाडी जिल्लाहरूबाट बसाइँसराइ गरी आउनेहरूको चाप र सहरीकरणका कारणले खेतीयोग्य जमिन घट्दै गएको छ । यसका साथै पछिल्लो डेढ दशकयता उखु खेतीतर्फ किसानहरू आकर्षित भएको हुनाले पनि गहुँ खेती घटेको छ । तर कृषि सम्बद्ध निकायहरूसँग भने अहिले पनि पुरानै तथ्याङ्क कायम छ । 

कृषि ज्ञान केन्द्र कञ्चनपुरकाअनुसार कञ्चनपुर जिल्लामा ३१ हजार २१० हेक्टरमा गहुँ खेती हुने गरेको र ३ दशमलव ३ मेट्रिक टन प्रति हेक्टर उत्पादन हुने गरेको तथ्याङ्क छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरले कृषक समूह तथा सहकारीहरूलाई गहुँको बिउ उत्पादनमा प्रोत्साहन गर्ने गरेको छ । 

त्यस्तै, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई कञ्चनपुरले गहुँ जोन कार्यक्रममार्फत किसानहरूलाई विभिन्न कार्यक्रममा समेटेर गहुँ उत्पादनमा सहयोग गर्ने गरेको छ । तर सबै किसानहरू यस्ता कार्यक्रमबाट लाभान्वित हुन सकिरहेको अवस्था छैन । 

धेरैजसो किसानहरू अझै पनि आफ्नै लगानी, ज्ञान, सीप र बलबुतामा गहुँ खेती गरिरहनु भएको छ । मलको अभाव र सिँचाइका लागि नहर नहुँदा महंगो पर्ने जमिनमुनिको पानी तानेर सिँचाइ गर्नुपर्ने बाध्यता किसानहरूलाई छ ।

बेलौरीका किसान कर्णबहादुर चौधरी मात्र नभइ कञ्चनपुरका धेरै किसानका उस्तै समस्या छन्, मल अभाव, सिँचाइ नहरको असुविधा, बढ्दो लागत र घट्दो उत्पादन । अर्कातिर, उखु खेतीबाट आउने तत्कालको आम्दानी लोभलाग्दो देखिन्छ । यही कारण धेरै किसान गहुँबाट उखुतर्फ मोडिनु भएको छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।