
महोत्तरी । देशकै अन्न भण्डारको रूपमा रहेको मधेस, असारमा सुक्खा र कात्तिक महिनाको बेमौसमी वर्षाका कारण नराम्ररी प्रभावित भयो ।
मधेसको महोत्तरी जिल्ला बेमौसमी वर्षाका कारण सबभन्दा बढी प्रभावित भएको छ । बेमौसमी वर्षाकै कारण बिघामा लगाइएको धानबाली खेतमै गल्दा यहाँका किसान मर्कामा परेका हुन् । महोत्तरीका किसानहरू अहिले धमाधम धान भित्र्याइ रहेका छन् ।
तर खेतमा धान पाकिसकेको समयमा बेमौसमी वर्षा हुँदा महिनौं मिहिनत गरेर फलाएको धानमा क्षति पुर्याउँदा किसानहरू समस्या छन् । केही किसान वर्षाले जोगिएका धान भित्र्याउँदै छन् भने धेरै किसानको खेतमा गत कात्तिकको बेमौसमी वर्षाले डुबाएको धान अझैं सफा गरिएको छैन् ।
असारमा रोपाइँका बेला खडेरी खेपेका किसान धान भित्राउने समयमा भएको झरीका कारण वर्षभरीको मिहिनत खेर जाने चिन्ता किसानहरूलाई छ । सुरूमा खडेरी, त्यसपछि डुबान र बेमौसमी वर्षाका कारण अहिले किसानमाथि ठूलोसंकट ल्याइदिएको हो । राहत र क्षतिपूर्ति नहुँदा उनीहरू झन समस्यामा परेका छन् ।
यसवर्ष बेमौसमी वर्षाका कारण धानमा क्षति त पुगेकै छ यसका साथै दलहन, तेलहन, आलुलगायतका बालीमा समेत असर परेको छ । त्यस्तै बेमौसमी वर्षाले मत्स्य उत्पादनमा समेत ह्रास ल्याउने सम्भावना रहेको छ । खडेरीका कारण महोत्तरीमा ४० हजार ३ सय २१ हेक्टर धान खेती योग्य जगा मध्ये जेन तेन ३० हजार हेक्टर किसानले रोपाइँ गरेका थिए ।
पछि बेमौसमी वर्षा र बाढीले डुवानका कारण २४ हेक्टरमा मात्रै ७४ हजार ८ सय ८० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रवक्ता अविरलकुमार महतोले बताउनु भयो । धानबाहेक तरकारी तथा अन्य नगदे बालीमा पनि बेमौसमी वर्षाले असर पारेको छ ।
यस वर्ष महोत्तरीमा मात्रै ९६ करोड बढीको क्षति पुर्याएको छ । धान खेतीमा मात्रै २० देखि २५ प्रतिशतसम्म उत्पादनमा ह्रास आएका कारण किसान चिन्ता परेका छन् । किसानलाई राहतका साथै अन्य नगदे बाली उत्पादनमा प्रोत्साहन गरी रहेको मनरा-शिसवाका नगर प्रमुख मोहन पाण्डेले बताउनु भयो ।
नेपालको सातवटै प्रदेशमध्ये मधेशले प्रदेशले कृषि क्षेत्रमा सबैभन्दा बढी योगदान पुर्याउँदै आइरहेको छ । गत वर्ष महोत्तरीमा मात्रै १ लाख २४ हजार मेट्रीक टन धान उत्पादन भएको थियो । मधेसलाई विपद् संकटग्रस्त क्षेत्र तोकेको सरकारले राहत प्याकेज ल्याउने विश्वास किसानहरूको छ ।