
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सुदूरपश्चिमको समृद्धिसँग जोडिएका ठूला आयोजना निर्माण र सञ्चालनमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
कैलालीको धनगढीमा साेमबार सुदूरपश्चिम महोत्सवको १९औं संस्करणको उद्घाटन गर्दै मन्त्री खनालले वर्तमान सरकारको प्रमुख काम निर्वाचन सम्पन्न गर्नु भए पनि आफ्नो कार्यकालमा गर्न सकिने विकास निर्माणका कामलाई पनि प्राथमिकता दिएर अघि बढाउने बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशमा एउटा पनि ठूला परियोजना नभएको अवस्थामा सञ्चालन हुन बाँकी दोधारा चाँदनीको सुक्खा बन्दरगाह र दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय यथाशीघ्र सञ्चालन गर्न आफूले पहल गर्ने उहाँले बताउनुभयो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले कोभिड र जेन-जी आन्दोलनका कारण शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, कपडा, होटल र सूचना प्रविधि गरी पाँच सयभन्दा बढी स्टल छन् । महोत्सव अबधिभरि १५ करोड रूपैयाँ बराबरको कारोबार हुने र सात लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको संघले जनाएको छ ।