रूग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी

मंसिर २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
रूग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले रूग्ण आयोजना व्यवस्थापनको नाममा त्रास फैलाएको बताउनुभएको छ ।

सोमबार निर्माण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरूलाई राज्यले प्रताडित गर्न नहुने बताउनुभएको हो । उहाँकाअनुसार एकतर्फी रूपमा आम जनतालाई निर्माण उद्योगको मात्रै त्रुटि देखाएर जनतासमक्ष उद्योगीको मानमर्दन गर्ने काम सरकारले बन्द गर्नुपर्छ । 

रूग्ण ठेक्काको व्यवस्थापन सही रूपमा हुनुपर्ने बताउँदै उहाँले सार्वजनिक ऐनको दफा, ६९ को ३ र ८ यथाशिघ्र खारेज गरेर निर्माण उद्योगलाई चलायमान बनाउनुपर्ने समेत बताउनु भयो । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले पछिल्लो समय मन्दिले असर गरेको बताउनु भयो । उहाँकाअनुसार हिजोका दिनमा गरिएका कानूनी त्रुटि, व्यवस्था र निर्माण व्यवसायमा टिकिराख्न गरिएका गैरकानूनी कामहरूले पनि यो अवस्था आएको हो । 

कानून र खरिदसम्बन्धी त्रुटिहरूलाई सुधारेर लैजानुपर्ने उहाँको भनाइ छ । उहाँले ठेक्का व्यवस्थापनका नाममा सबै रूग्ण ठेक्काहरू नतोडिएको समेत बताउनु भयो । सिग्देलकाअनुसार कतिपय ठेक्काहरू चेतावनी पछि अघि बढाइएको छ । निर्माण व्यवसायी महासंघले १८औं राष्ट्रिय निर्माण दिवसको अवसरमा सोमबार बिहान प्रभातफेरी समेत आयोजना गरेको छ । साथै महासंघको कार्यालयमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.