
खोटाङ । कातिक-१५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुगेको छ ।
थन्क्याउनका लागि तयार भएको प्रमुख खाद्यबाली धानमा ठूलो नोक्सानी पुगेपछि उत्पादनमा ह्रास आएको हो । १० स्थानीय तह रहेको खोटाङमा यो वर्ष ९ हजार ९ सय ८८ दशमलव ३ हेक्टरमा धान लगाइएको थियो । जसमध्ये ६ हजार ९ सय ९१ दशमलव ६ हेक्टर खेतको धान गत कात्तिकको अविरल वर्षले नोक्सान गरेको हो ।
झरीको मार खेपेको धान खेतबाट उठाउन किसानहरू जुटिरहेका छन् । बचे-खुचेको धान पनि बाँदरलगायतका वन्यजन्तुबाट जोगाउन अर्को चुनौती छ । १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेंलो भएको र दश प्रतिशत हरियो अवस्थाको धान झरीले नोक्सान गरेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । तर, किसानलाई राहत तथा सहयोगको लागि गर्नसक्ने योजना यो कार्यालयसँग केही पनि छैन ।
करिब २६ हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको खोटाङमा यस वर्ष समयमै रोपाइँ भएकाले उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो । तर, प्राकृतिक विपत्तिको चेपुवामा हरेक किसान परेपछि भोकै परिने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताएको छ ।