
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको बताउँदै त्यसलाई चिर्न जरूरी रहेको बताउनुभएको छ ।
सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)काे २९औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले नेपालकै पुँजीले पनि धेरै ठूला आयोजना बनाउन सकिने बताउनु भयो । नेपालमा ठूला पूर्वाधार बनाउनका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडीपी) बनाइएको उहाँले बताउनु भयो ।
उहाँकाअनुसार त्यसमा धेरै व्यवसायी समेटेर नेपालकै पुँजी परिचालन गरेर ४०/५० अर्बका प्रोजेक्ट बनाउन थालिएको छ । ढकालले नेपालमै लगानीको वातावरण रहेको सन्देश दिनका लागि पनि एनडीपीको योजनालाई अघि बढाइएको बताउनु भयो । अध्यक्ष ढकालले आम व्यवसायीसँगै नागरिकको मनोबल उकास्ने गरी अब सरकारले काम गर्न जरूरी रहेको बताउनु भयो ।
महासंघ अध्यक्ष ढकालले भन्नुभयो–‘वास्तवमा सुरक्षाको कुरा एकदमै महत्वपूर्ण भएको छ । आउने दिनमा कुनै एउटा व्यवसायी, व्यक्ति भन्दा पनि आम नागरिकलाई कन्फिडेन्ट दिने खालको सुरक्षा प्रबन्ध मिलाइनुपर्छ ।’ सोही कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरन्द्रबहादुर पाण्डेले मुलुकमा चुनावपछि निजी क्षेत्रले लगानीको वातावरणमा सुधार हुने अपेक्षा राखेको बताउनुभएको छ । उहाँले निर्वाचन अघि बनेको यो सरकारले नीतिगत कुराहरूलाई समेत प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष पाण्डेले भन्नुभयो–‘अर्थतन्त्रको कुनै एउटा क्षेत्रलाई असर पर्दा त्यसको असर समग्र अर्थतन्त्रलाई नै पर्छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै दीगो विकासका लागि नीतिगत तथा कानुनी सुधार गर्नुपर्छ ।’ अध्यक्ष पाण्डेले जेन-जी आन्दोलनपछिको सिथिलतालाई सबै मिलेर सामना गर्दै सबल अर्थतन्त्रका लागि अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।