
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरूले ‘लोन प्याकेज’हरु पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)काे २९औँ वार्षिक साधारण सभामा गभर्नर पौडेलले विभिन्न क्षेत्रहरूबाट बैंकहरूको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरूले त्यस्ता प्याकेजहरू पुनरावलोकन गर्ने बेला आएको बताउनु भयो । गभर्नर पौडेलकाअनुसार उद्योगी, व्यवसायीहरूसँग छलफल गरेर बैंकका सिइओहरूले त्यस्ता प्याकेजहरू डिजाइन गर्नुपर्छ ।
अहिलेका प्याकेजहरू त्यसरी डिजाइन नगर्दा प्रभावकारी रूपमा ऋण प्रवाह हुन सकेको छैन र ब्यापक रूपमा बैंकमा पैसा थ्रुपिएको उहाँले बताउनुभयाे । उहाँले बैंकहरूको प्रोडक्ट मौद्रिक नीतिअनुसार नआउने गरेको समेत बताउनु भयो । गभर्नर पौडेलले यस विषयमा बैंकका सिइओसँग आगामी हप्ता छलफल समेत आफूले गर्न लागेको बताउनु भयो ।
पौडेलकाअनुसार अहिलेका बैंकहरूको प्रोडक्टरहरू कत्तिको प्रभावकारी छन् भन्नेबारे समीक्षा हुनेछ । उहाँले मौद्रिक नीतिलाई थप लचिलो बनाइएको बताउँदै यसले कृषि, पर्यटनलगायतका उद्यमी व्यवसायीले ऋणका लागि सहजता थप्ने बताउनु भयो । उहाँले राष्ट्र बैंकको नीतिकै कारण कुनै उद्योगी व्यवसायीलाई समस्यामा पर्ने आवस्था आउन नदिने समेत बताउनु भयो ।
राष्ट्र बैंकका गभर्नर पौडेलले बैंकहरूलाई महानगरभित्र शाखा खोल्ने, गाँभ्नेमा मौद्रिक नीतिले स्वतन्त्र छाडिदिएको बताउनु भयो । त्यसले बैंकहरूले नाफा बढाएर मुनाफा खुलाउन सघाउ पुग्ने आफूले विश्वास लिएको समेत उहाँले बताउनु भयो । सोमबार राष्ट्र बैंकले बैंकहरूलाई महानगर भित्र शाखा खोल्न र बन्द गर्न स्वतन्त्रता दिएको थियो ।