जेन-जी सरकारले पनि हाम्रा माग पूरा गरेन : सहकारी पीडित

मंसिर १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी सरकारले पनि हाम्रा माग पूरा गरेन : सहकारी पीडित

काठमाडौं । सहकारी पीडितहरूले प्रदर्शनलाई जारी राखेका छन् ।

मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले सोमबार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् । सहकारीमा जम्मा गरेको वचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेर उनीहरू आन्दोलनमा उत्रेका हुन् । 

आन्दोलनमा सहभागी भएका बनेपामा रहेको पशुपति सहकारीपीडित राजकुमार ढकालले आफ्नो १८ लाख रूपैयाँ डुबेको बताउनु भयो । उहाँले छोराछारी पढाउनको लागि राखेको रकम फिर्ता नपाएको गुनासो गर्नुभयो । ३ वर्षदेखि सो सहकारी बन्द भएको उहाँको भनाइ छ । 

सञ्चालक फरार भएपछि विगत ३ वर्षमा आफूहरूले रत्नपार्कमा १०८ दिन, तीनकुने ६३ दिन आन्दोलन गरेको उहाँले बताउनु भयो । हाल बुद्धनगरमा मंसिर ५ गतेदेखि आन्दोलन गरिरहेको उहाँको भनाइ छ । उहाँले सरकारले पटक-पटक वार्ता गरे पनि आफुहरूको माग पूरा नगरेको उहाँले बताउनु भयो । 

कतिपय सहकारी पीडितहरू डिप्रेशनको शिकार समेत बनेको उहाँको भनाइ छ । उहाँले सरकारले चाहेमा सहकारी पीडितको रकम फिर्ता गर्नसक्ने बताउनु भयो । उहाँले आफू पनि डिप्रेशनको सिकार भएर औषधि सेवन गरिरहेको जानकारी दिनुभयो । उहाँले जेन-जी आन्दोलनपछि बनेको नागरिक सरकारले समेत आफुहरूको माग पूरा नसकेको बताउनु भयो ।

प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, वचतकर्ताको सम्पूर्ण वचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो, भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौँ, सम्पूर्ण पीडितको वचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ, सरकार समस्याग्रस्तमा राजनितिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै ? लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.