
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा साेमबार सार्वजनिक गरेको छ।
समीक्षामार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ। राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाएर ५ दशमलब ७५ प्रतिशत कायम गरेको छ।
त्यस्तै, नीतिगत दरलाई ४ दशमलब ५ प्रतिशतबाट घटाएर ४ दशमलब २५ प्रतिशत कायम गरिएको छ। निक्षेप सङ्कलन दर भने २ दशमलब ७५ प्रतिशतमा यथावत् राखिएको छ। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाइएको छ।
अब यस्तो कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रूपैयाँ कायम गरिएको छ। यसैगरी बैंकले बैंकहरूले संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपको भन्दा कम्तिमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने बाध्यात्मक व्यवस्था खारेज गरेका छन्। यस्तै बाढी-पहिरो प्रभावितलाई ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा दिइएको छ ।