औषधि व्यवसायीद्वारा गृहमन्त्री र स्वास्थ्यमन्त्रीको आलोचना

मंसिर १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
औषधि व्यवसायीद्वारा गृहमन्त्री र स्वास्थ्यमन्त्रीको आलोचना

काठमाडौं । औषधि व्यवसायीहरूले आफूहरूको माग सुनुवाइ नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

सोमबार पनि काठमाडौंको नयाँबानेश्वरस्थित औषधि व्यवस्था विभागको कार्यालयमा धर्ना दिन पुगेका उनीहरूले आफूहरूको माग सुनुवाइ नगरेको र धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरिएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गरेका हुन् । 

सरकारले आफूहरूको मागको सुनुवाइ गर्नुको साटो शान्तिपूर्ण रूपमा धर्नामा बस्ने अधिकारसमेत हनन गरेको भन्दै औषधि व्यवसायी गोपालराज पाण्डेले आपत्ति जनाउनु भयो । उहाँले आफूहरूको माग तत्काल सुनुवाइ नगरे सबै व्यवसाय बन्द गरेर सडक संघर्षमा आउन बाध्य हुने चेतावनी समेत दिनुभयो ।

व्यवसायी पाण्डेले भन्नुभयो,‘स्वास्थ्यमन्त्रीज्युले थाहा पाउँदा पाउँदै पनि विभागीय प्रमुखको कुरा सुनेर हामीहरूलाई बेवास्ता गर्नुभयो भने यसको असर देशव्यापी रूपमा हुन्छ । हामीलाई कुनै दल र समूहसँग नजोड्नु होला । हामीलाई अरूसँग मतलव छैन । हामीलाई अध्यादेशमार्फत काम गर्न सहज हुनेगरी कानून बनाइयोस् भन्ने हाम्रो कुरा हो । हामीलाई गृहमन्त्रीले शान्तिपूर्ण प्रदर्शन पनि गर्न नपाउनेगरी प्रहरी परिचालन गरिएको छ । यो भनेको त राज्यले हामीलाई दोस्रो दर्जाको नागरिक बनाउन खोेजेको होइन र ?’

औषधि व्यवसायीहर"ले व्यवसायिक नविकरण ढिला भएमा स्वतः व्यवसाय रद्द हुने लगायतका प्रावधान हटाउन सरकारसँग माग गर्दै सो विभागको कार्यालयमा दैनिक धर्ना दिँदै आएका छन् । व्यवसायी पाण्डेले सरकारले आफूहरूको माग सम्बोधन गर्नुको सट्टा शान्तिपूर्ण रूपमा धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरेकाले प्रतिवादमा उत्रनुपर्ने अवस्था आएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.