
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरूको मानमर्दन गर्नुभएको आरोप लगाउनुभएको छ ।
बागमती प्रदेश निर्माण व्यवसायी महासंघको साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले जेन-जी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरूमा निर्मम प्रहार गरिरहेको बताउनु भयो । उर्जा, जलश्रोत, सिँचाई, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्रीले असभ्य भाषाबाट निर्माण व्यवसायीहरूमाथि प्रहार गरिरहनुभएको उहाँले आराेप लगाउनु भयो ।
मन्त्री घिसिङको कदमले व्यवसायीहरू हतोत्साहीत भएको उहाँकाे भनाइ छ । मन्त्रीले निर्माण उद्योगलाई धराशायी बनाइरहनुभएको समेत उहाँले आरोप लगाउनु भयो । असन्तुष्टि र विद्रोहबाट बनेको सरकारले पछ्याएको बाटो पनि विगतको दिनको भन्दा फरक पाउन नसकेको उहाँकाे दाबी छ ।
अध्यक्ष सिंहले विगतमा सरकारी संयन्त्रको प्रयोग गरी राजनीतिक स्वार्थ पूरा गर्ने गरिएको र अन्तरिम सरकारले पनि त्यही क्रमले निरन्तरता पाएको दाबी गर्नुभयो । मन्त्री घिसिङ सरकारी संयन्त्रको प्रयोग गरेर पार्टीको प्रचारमा लागिरहेको उहाँले आरोप लगाउनु भयो ।