
काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलमा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त खेलाडीले समेत खेल्दैछन् ।
देशकै प्रतिष्ठासँग जोडिएको प्रतियोगितामा आ-आफ्ना क्लबप्रति समर्थन जनाउन क्रिकेटप्रेमीसमेत ठूलो संख्यामा रंगशाला पुग्नेछन् । खासगरी एनपीएलको झन्डै एक महिना युवाहरूको भिड कीर्तिपुर वरपर केन्द्रित हुनेछ। अझ त्यसमाथि यसपटक साँझमा फ्लडलाइटमा प्रतियोगिता हुनेछ ।
एनपीएलको सुरक्षा व्यवस्थाका लागि तयार अवस्थामा रहेको सुरक्षा निकायले जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पनि आइतबारै काठमाडौंका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेल र काठमाडौं प्रहरी प्रमुख रमेश थापासँगको बैठकमा खेल अवधिभर सुरक्षा व्यवस्था चुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिनुभएको छ ।
मंसिर १ गतेदेखि हुने नेपाल प्रिमियर लिग-एनपीएलको उद्घाटन खेलका लागि टिकट बुकिङ सुरू भएको २० घण्टामै सबै टिकट बिक्री भइसकेको छ । १० हजार टिकट त अनलाइनमार्फत बिक्री भइसकेका छन् । यसले पनि क्रिकेटप्रेमीहरू एनपीएलका खेल हेर्न आतुर छन् भन्ने देखिइसकेको छ ।
त्रिवि रंगशालामा टिकट काटेका दर्शक १० हजार, टिमका अफिसियल र अन्य कर्मचारी गरी झन्डै १२ हजार जना रंगशालामा हुनेछन् । यसबाहेक खेल हेर्न चाहेर पनि टिकट नपाउने ठूलो भिड रंगशाला वरपर जम्मा हुने सम्भावना छ । यसैले अप्रिय घटना हुन नदिन प्रहरीले उद्घाटनका दिन १२ सयभन्दा बढी सुरक्षाकर्मी खटाउने योजना बनाएको छ । यसका साथै सुरक्षा विश्लेषण गरेर काम गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले बताउनुभएको छ ।
एनपीएलमा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त खेलाडीले समेत सहभागी हुने र देशकै प्रतिष्ठासमेत जोडिने भएकाले सुरक्षा निकाय सुरक्षामा अझ बढी सतर्क हुनुपर्ने देखिन्छ । यसपटक ९ हजार ४ सय ५० सिटको प्यारापिट निर्माण भएको र गत वर्ष देखिएका सुरक्षा चुनौतीलाई समेत मूल्याङ्कन गरेर काम गरिरहेको नेपाल क्रिकेट एसोसिएसन-क्यानका सचिव पारस खड्काको भनाइ छ ।
एनपीएलमा सहभागी हुने क्लबका कप्तानहरूले पनि यो प्रतियोगिता देशकै प्रतिष्ठासँग जोडिएकाले समर्थकहरू शान्त रहने विश्वास व्यक्त गरेका छन् । गत वर्षको पहिलो सिजनमा एनपीएलप्रति क्रिकेटप्रेमीहरूको उत्साह जति देखिएको थियो, फ्लडलाइट र प्यारापिटका कारण यस वर्ष खेल झन् रोमान्चक हुने निश्चित छ । तर यसपटक साँझको समयमा खेल हुने भएकाले भिड व्यवस्थापनलगायतमा चुनौती हुने देखिन्छ, जसका लागि सुरक्षा निकाय र क्यान बढी जिम्मेवार हुनु आवश्यक छ ।