
काठमाडौं । मुलुकको अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएका छन् ।
राष्ट्र बैंकको त्रैमासिक प्रतिवेदन अनुसार रेमिट्यान्समा उच्च वृद्धि देखिएको छ भने महंगीदर घटेको छ । राष्ट्र बैंकका अनुसार तीन महिनाभित्र रेमिट्यान्सबाट मात्रै ५ खर्ब ५३ अर्ब ३१ करोड रूपैयाँ मुलुकमा भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ४ प्रतिशतले बढी हो । असोजमा मात्रै दुई खर्ब एक अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको छ ।
चालु आर्थिक वर्षको यो तीन महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने र नविकरण गर्नेको संख्या भने गत वर्षको सोही अवधिमा भन्दा कम छ । राष्ट्र बैंकको मासिक प्रतिवेदनमा संघ, प्रदेश र स्थानीय तहका विभिन्न खातामा १ खर्ब ७४ अर्ब ९२ करोड रूपैयाँ मौज्दात रहेको उल्लेख छ ।
तीन महिनामा प्रदेश सरकारहरूको कुल खर्च १७ अर्ब १५ करोड र स्रोत परिचालन ४५ अर्ब ८ करोड रूपैयाँ रहेको छ । शोधनान्तर स्थिति पनि यो अवधिमा २ खर्ब ६४ अर्ब ३ करोड रूपैयाँले बचतमा देखिएको छ । गत आर्थिक वर्षको तीन महिनामा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड बचतमा थियो । विदेशी मुद्रा सञ्चिति २९ खर्ब ७९ अर्ब पुगेको छ ।
राष्ट्र बैंकको तथ्यांकले असोजमा मूल्य वृद्धिदर औसत १.४७ प्रतिशत रहेको र तरकारी सबैभन्दा महँगो भएको देखाएको छ।