
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजश्व अनुसन्धान विभाग आवश्यक नरहेको बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री खनालले अमेरिकालगायतका मुलुकहरूको दृष्टान्त दिँदै राजश्व सम्बन्धि केही समस्या भए त्यसलाई समाधान गर्न सोही सम्बन्धि विभागले नै काम गर्ने व्यवस्था गर्न उपयुक्त हुने स्पष्ट पार्नुभयो ।
उहाँले वर्तमान सरकारसँग काम गर्ने समय करिब साढे ३ महिना मात्रै भएको उल्लेख गर्दै त्यसबीचमा आफूले अर्थतन्त्र सुधारका लागि आवश्यक प्रणालीको विकासमा आफू केन्द्रित हुने समेत बताउनु भयो । अर्थमन्त्री खनालले भन्नुभयो,‘मेरो कार्यकाल अब साढे ३ महिना मात्रै बाँकि छ । फागुन २१ गते निर्वाचन भइसकेपछि त म मन्त्री पदमा रहन्न । त्यो भन्दा एक महिना अघिनै निर्वाचन आचारसंहिता लागू होला । त्यो बेला पनि आर्थिक सुधारका कामहरू गर्न पाइन्न । त्यो बेलासम्म सुधारका कामहरू गर्नेछु । त्यसैगरी राजश्व अनुसन्धान विभाग अथवा त्यस्तो किसिमको निकाय चाहिँदैन । किनभने जब हामी विश्वास निर्माणमा आधारित प्रणाली निर्माण गर्छौं भने त्यस्तो अरू निकाय आवश्यक हुँदैन । सरकारी, निजी क्षेत्र वा समुदायमा पनि गलत कारोबार गर्ने केही आवश्य पनि हुन्छन । त्यसलाई कारबाही गर्ने निकाय सम्बन्धित निकायमा नै हुनुपर्छ । केही मुलुकहरूमा भन्सार सम्बन्धि काम त्यस अन्तर्गतकै निकायले हेर्दछन् ।’
अर्थमन्त्री खनालले आपसी विश्वासमा आधारित प्रणालीको विकास गरेर मात्रै मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सकिने बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्ने नीति लिएको पनि दोहोर्याउनु भयो ।