मधेशमा बल्ल धान काटाइ सुरू, ढिलो रोपाइँ र बाढीले धानबालीमा ठूलो क्षति

यस वर्ष ३० प्रतिशत भन्दा बढी धान उत्पादनमा ह्रास आउने अनुमान
मंसिर ७, २०८२ |अनिल मिश्र
मधेशमा बल्ल धान काटाइ सुरू, ढिलो रोपाइँ र बाढीले धानबालीमा ठूलो क्षति

जनकपुर । पहाडी जिल्लामा धान भित्र्याएर हिउँदेबाली लगाइ सके पनि सबैभन्दा बढी खेतीपाती हुने मधेशका किसानहरूले बल्ल धान काटन सुरू गरेका छन्। 

पानी अभावमा समयमा धान रोपाइँ गर्न नसेका किसानहरूले ढिलो गरी रोपेका कारण बल्ल धान भित्र्याउन थालेका हुन् । उर्वर भुमि रहे पनि सिँचाइको अभाव, धान रोपाइँको मुख्य सिजन साउन महिनासम्म खडेरीको मार, भदौमा पानी परेपछि जसोतसो छिपेको बूढो बीउ रोपेको, जिउ लाग्ने सिजन असोजमा बेमौसमी वर्षा, मलखादको अभावलगायतका कारण यस वर्ष मधेशमा राम्ररी धान नफलेकोमा किसान चिन्तित छन् ।

मधेशमा रहेको कुल ३ लाख ७० हजार ४५ हेक्टर धान खेती योग्य जग्गा मध्ये ८६ दशमलव ३५ अर्थात् ३ लाख २९ हजार ६ सय २६ हेक्टरमा मात्र रोपाइँ भएको थियो । त्यसमध्ये असोजमा आएको बाढीले २ अर्ब ६२ करोड ८८ लाख बराबरको धानबालीमा छति पुगेको हो । 

मधेश कृषि विकास निर्देशनालयका अनुसार २०८० को तुलनामा २०८१ मा मधेशमा १० दशमलव ७ प्रतिशत धान उत्पादनमा वृद्धि भएको थियो । समयमै मनसुन भित्रेका कारण गत वर्ष १४ लाख ८० हजार ८ सय ३० मेट्रिक टन धान भएको थियो भने पानीको अभावमा समयमा रोपाइँ नभएको, कुल धान खेतीयोग्य जग्गा मध्ये झन्डै १४ प्रतिशतमा रोपाइँ हुन नसकेको र रोपेका धानमा पनि असोजको बाढीले क्षति पुगेका कारण यस वर्ष ३० प्रतिशत भन्दा बढी धान उत्पादनमा ह्रास आउने अनुमान छ । 

असोज र कार्तिकमा परेको बेमौसमी वर्षाले खेतमा पानी र अधीकांश खेतको माटो गिलो रहेका कारण आलु, गहुँ, दलहन, तेलहनलगायतका हिउँदे बाली लगाउन समस्या छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।