मन्त्रालयद्वारा मनसुनजन्य विपद्‌बाट कृषि क्षेत्रमा पुगेको क्षतिको विवरण सकंलन सुरू

आश्विन २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मन्त्रालयद्वारा मनसुनजन्य विपद्‌बाट कृषि क्षेत्रमा पुगेको क्षतिको विवरण सकंलन सुरू

काठमाडौं । असोज १७ देखि २० गतेसम्मको अविरल वर्षापछि आएको बाढी,पहिरो तथा विपद्ले कृषि क्षेत्रमा व्यापक क्षति पुगेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले क्षतिको विस्तृत विवरण संकलन गर्न प्रदेशहरूलाई परिपत्र गरे पनि एक हप्ता बितिसक्दा समेत विवरण प्राप्त नभएको जनाएको छ । मन्त्रालयले बालीनाली, पशुपन्छी, कृषि पूर्वाधार, भवन र कृषियोग्य जमिनको क्षतिलगायत क्षेत्रको विवरण माग गरेको छ । 

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. जानुका पण्डितले मन्त्रालयमा बसेको बैठकले क्षति विवरण संकलन गर्ने निर्णय गरेको र सातवटै प्रदेशलाई परिपत्र गरी फारम पठाइएको बताउनु भयो । उहाँकाअनुसार मन्त्रालयले बिमा गरेको र नगरेको क्षतिको विवरण छुट्टा-छुट्टै माग गरेको छ । 

प्रदेश सरकारले समेत सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रबाट विवरण संकलन गर्ने भएकोले दोहोरोपन नदेखिने गरी विवरण माग गरिएको उहाँले बताउनु भयो । उहाँले संघीय स्तरबाट तल्लो तहको बीमा स्थिति छुट्याउन कठिन भएकाले प्रदेशबाटै छुट्टयाएर पठाउन निर्देशन दिइएको बताउनु भयो । यदि बीमा गरे नगरेको वर्गीकरण नगरिकन क्षतिको विवरण पठाए फेरि निर्देशन दिइने उहाँको भनाइ छ ।

प्रवक्ता पण्डितले प्रदेशहरूले आफ्ना कृषि ज्ञान केन्द्रमार्फत विवरण संकलन गर्ने बताउनु भयो । उहाँले विपद्‌बाट भएको क्षतिको विवरण संकलनमा समस्या आउनसक्ने भन्दै मन्त्रालयले नै फर्म्याट बनाएर पठाएको बताउनु भयो । 

उहाँले कृषि ज्ञान केन्द्रहरुले प्रत्येक पालिकामा कति घरधुरीमा क्षति पुग्यो के केमा क्षति पुग्यो भन्ने कोणबाट विवरण संकलन गरेर पठाउने बताउनु भयो । क्षति भएको घरको विवरणसहित नै पठाउँदा क्षतिको मूल्याङ्कन गर्न सजिलो हुने उहाँको विश्वास छ । विवरण संकलन गर्दा कोही नछुटोस्, कोही नदोहोरियोस् भन्नेबारे सचेत रहन निर्देशन दिइएको उहाँले बताउनु भयो ।

कृषि मन्त्रालयले क्षतिको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बनाउन सहसचिवको संयोजकत्वमा संयन्त्र गठन गरेको छ । संयन्त्रले प्राप्त क्षतिको विवरणको अध्ययन गरी राहत सहयोगको सुझावसहित सरकारलाई प्रतिवेदन दिने प्रवक्ता पण्डितले बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.