दशैँमा खाद्यले खसी, बोका र च्याङ्ग्रा नबेच्ने

आश्विन ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
दशैँमा खाद्यले खसी, बोका र च्याङ्ग्रा नबेच्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण आपूर्ति व्यवस्था अन्योलमा परेपछि कम्पनीले बिक्री नहुने खाद्यले जनाएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सूचना अधिकारी माधव मिश्रले जेन-जी आन्दोलन र सडक अवराधका कारणले यस वर्ष खसी, बोका र च्याङ्ग्रा ल्याउन नसकेको बताउनु भयो । 

हाल सडक ३६ घण्टासम्म सडक अवरूद्ध भएको उल्लेख गर्नुहुँदै उहाँले लामो समय खसी, बोका र च्याङ्ग्रालाई गाडीमा स्टक गरेर राख्दा समस्या हुने बताउनु भयो । 

खसीबोका र च्याङ्ग्रा मरेर झन ठूलो नोक्शानी हुने र त्यसको सन्देश पनि नराम्रो जाने भएकोले यो वर्ष नबेच्ने निर्णय गरेको सूचना अधिकारी मिश्रले बताउनु भयो । उहाँले यसबाट आम उपभोक्तालाई केही असर पर्ने देखिएपनि निजी क्षेत्रले जटिल अवस्थामा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले मूल्यवृद्धि नगरी सुपथ मूल्यमा सेवा दिन पनि निजी क्षेत्रलाई आग्रह गर्नुभयो । यो वर्ष खाद्यले खसी, बोका र च्याङ्ग्रा नबेचे पनि मूल्यवृद्धि नियन्त्रणको लागि अनुगमन भने गर्ने उहाँले बताउनु भयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खरिद विभागको विभागीय प्रमुख अनन्तराज पौडलले कम्पनीको बार्षिक कार्यक्रम अनुरूप चाडपर्वको बेलामा खसी बोका र च्याङ्ग्रा बिक्रीको लागि सम्पूर्ण तयारी गरिएको भए पनि रोकिएको बताउनु भयो । 

खरिदका लागि सम्बन्धित कार्यलयमार्फत स्थानीय तहहरुमा पत्राचार समेत भइसकेको अवस्थामा रद्द गरिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार खाद्य कम्पनीले यस वर्ष अनलाइन प्रणालीमार्फत पनि खसी, बोका बिक्री गर्ने योजना बनाएको थियो । 

अनलाईन पोर्टलमा आफूले चाहेको तौल, समूह, आफूले चाहेको खसी, बोका अथवा च्याङ्ग्रा सेलेक्ट गरेर डेलिभरी लिने मिति समेत राखेर लैजान मिल्ने गरी तयारी गरिएको उहाँले बताउनु भयो । 

अनलाइन बुकिङमार्फत करिब ३० वटा अर्डर आएको भएको उहाँले जानकारी दिनुभयो । उहाँले जेन-जी आन्दोलनका कारण सबै कार्यक्रम स्थगित गर्नुपरेको बताउनु भयो ।

कम्पनीले यसअघि करिब १ हजार ५ सय खसी, बोका र ३ सय च्याङ्ग्रा आपूर्ति गरी सुपथ मूल्यमा बिक्री गर्ने तयारी गरेको थियो । तर अशान्त परिस्थिति र यातायात सहज नहुन सक्ने जोखिमका कारण बिक्री नगर्ने निर्णय लिइएको हो । यद्यपि, खाद्यले दशैंका लागि आवश्यक खाद्यान्न र अन्य सामग्री भने सुपथ पसलमार्फत बिक्री वितरण सुरू गरिसकेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.