काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।
सोमबार मन्त्रालयमा पदभार सम्हाल्दै उद्योगसँगै कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहनुभएका उहाँले यस्तो बताउनुभएको हो ।
जेन-जी आन्दोलनमा सहादत प्राप्त गरेका तथा घाइते भएकाहरूको परिवारलाई रोजगार दिनसके उनीहरूलाई केही सहज हुने उहाँले बताउनु भयो । यसका लागि उद्योगी व्यवसायीहरूसँग छलफल गर्ने उहाँको भनाइ छ ।
उहाँले युवाहरूको सिप विकासमा सबैभन्दा बढी आफ्नो ध्यान रहने पनि बताउनु भयो । वैदेशिक रोजगारीमा गएका युवाहरूलाई देश फर्केर देशभित्रै रोजगारी दिने वातावरण निर्माण गर्नुमा आफ्नो जोड हुने उहाँको भनाइ छ । उहाँले आफू कानून क्षेत्रमा रहँदा पनि कर, वैदेशिक लगानी तथा उद्योग वाणिज्यसम्बन्धी विषयमा नै काम गरेको बताउनु भयो ।
उहाँले सरकारी निकायमा फर्निचरलगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने, अत्यावश्यकबाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्न पहल गर्ने निर्णय गर्नुभएको छ ।