काठमाडौं । संयुक्त अरब इमिरेट्स-यूएई जान लागेका ७ हजारभन्दा धेरै श्रमिकको भिसा प्रक्रिया रोकिएको छ ।
सम्पूर्ण प्रक्रिया सकेर आवेदन दिएका श्रमिकको भिसा रोकिएको वैदेशिक रोजगार व्यवसायी संघले जानकारी दिएको छ । संयुक्त अरब इमिरेड्स-यूएई लागि १० हजार श्रमिकको भर्ना प्रक्रिया नै रोकिएको व्यवसायीहरूले बताएका छन् ।
व्यवसायीहरूले मागपत्र प्रमाणीकरण भइसकेपछि र भिसा प्रक्रियामा रहेका श्रमिकलाई जाने वातावरण मिलाइदिन सरकारसँग आग्रह गर्दै आएका छन् । वैदेशिक रोजगारीमा जाने नेपाली मध्ये सबैभन्दा धेरैले यूएईलाई गन्तव्य बनाउँदै आएका थिए ।
भदौ २३ र २४ गतेको आन्दोलनका कारण नेपालका कैदीबन्दी रिहा भएपछि सुरक्षाको कारण यूएईले भिजिट भिसा रोकेको थियो। पछि श्रमिकको भिसा पनि रोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार यूएईमा मात्रै ५ लाखभन्दा बढी नेपाली श्रमिक छन् ।