काठमाडौं । भदौ २४ गते भएको आगजनीका कारण भाटभटेनीका १२ वटा ठूला डिपाटमेन्ट स्टोर खरानी भए ।
बाँकी १६ वटामा तोडफोड र आगजनीबाट क्षति भयो । यति धेरै क्षति हुँदा पनि भाटभटेनीका सञ्चालकहरुले हिम्मत हारेका छैनन् । तंग्रिने प्रयास सुरु गरिसकेका छन् । भन्छन्- कुनै पनि कर्मचारीलाई निकालिँदैन र दशैंको भत्ता पनि दिन्छौं ।
देशका मुख्य शहरमा आक्रामक बजार विस्तार गरिरहेको भाटभटेनी डिपार्टमेन्ट स्टोरले जेन-जी आन्दोलनमा क्रममा सबैभन्दा धेरै क्षति बेहोर्यो । काठमाडौंको नक्साल, महाराजगन्ज, बौद्ध, कोटेश्वर र बालुवाटारको वेयरहाउसमा तोडफोड र आगजनी भएको छ ।
पोखरा, चितवन, हेटौंडा, विर्तामोड, दमक, विराटनगर र धरानका सुपर स्टोर पनि पूर्ण ध्वस्त भएका छन् । १२ वटा स्टोर त खरानी नै भए । बाँकी १६ वटामा पनि तोडफोडदेखि लुटपाट मच्चिएको भाटभटेनीको व्यवस्थापनले बताएको छ । तर सञ्चालकहरुले हिम्मत हारेका छैनन् ।
उनीहरू खरानीको धुलो झार्दै फेरि उठ्ने प्रयासमा छन् । विषम परिस्थितिमा पनि कर्मचारीहरूलाई नियमित तलव मात्र होइन, दशैं बोनससमेत दिने घोषणा व्यवस्थापनले गरिसकेको छ ।
व्यवसायी मिनबहादुर गुरुङले २०४१ सालमा काठमाडौंको नक्सालमा एउटा सटर भाडामा लिएर सुरु भएको भाटभटेनी अहिले देशभरका मुख्य शहरमा विस्तार भएको छ ।
भाटभटेनीका शाखाहरुले दैनिक झन्डै ११ करोडको कारोबार गरिरहेका थिए । ५ हजारभन्दा धेरैलाई प्रत्यक्ष तथा अन्य १५ हजारलाई अप्रत्यक्ष रोजगारी दिइरहेको भाटभटेनी व्यवस्थापनले ७७ वटै जिल्लामा शाखा पुर्याउने लक्ष्य राखेको थियो । तर भदौ २४ गतेको सांघातिकपछि पनि भाटभटेनीले भनिरहेको छ- हामी उठ्छौं । अहिले भाटभटेनीले क्षतिको विवरण संकलन गरिरहेको छ ।
आफ्ना १२ वटा ठूला स्टोर खरानी हुँदा पनि भाटभटेनीको व्यवस्थापनले गरेको कर्मचारीको रोजगारी गुम्न नदिने प्रण प्रशंसनीय छ ।