सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा चाडपर्व नजिकिंदै गर्दा उपभोक्ताको सुरक्षालाई ध्यानमा राखी बजार अनुगमन थालिएको छ ।
अनुगमनका क्रममा अधिकांश पसलेले मन्दीलाई कारण देखाउँदै दर्ता र नवीकरण नगरी व्यापार व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ । यसले राजस्व संकलनमा असर पर्नुको साथै उपभोक्ताहरू पनि मर्कामा परिरहेका छन् ।
चौतारा बजार सिन्धुपाल्चोकको सदरमुकाम हो । चाडपर्व नजिकिएसँगै स्थानीय प्रशासनको अगुवाइमा यहाँ चार दिनदेखि बजार अनुगमन भइरहेको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका सामान, विना दर्ता पसल सञ्चालन र नवीकरण नगरेको लगायतका समस्या देखिएका छन् ।
अधिकांशले दर्ता नै नगरी व्यापार थालेका छन् भने दर्ता गरेर सञ्चालन गरेका व्यवसायीले समेत मन्दीलाई कारण देखाउँदै लामो समयदेखि नवीकरण नगरेको पाइएको छ ।
९० प्रतिशत पसल तथा होटल मूल्यसूची टाँस नगरी मनपरी मूल्य असुल्ने, सरसफाइको अवस्था कमजोर रहेको र कतिपय पसलमा म्याद गुज्रिएका सामानसमेत बिक्री भइरहेको समस्या देखिएको छ । केही होटल र पसलमा कानूनी अनुमतिबिना नै मदिरा बिक्री भइरहेको पाइएको छ ।
विना दर्ता र नवीकरण नियमित नहुँदा राजस्व संकलनमा असर पार्नुका साथै उपभोक्ता अधिकारसमेत कुण्ठित भएको छ । दर्ता नगरेका व्यवसायीलाई तत्काल दर्ता गर्न, नवीकरण नगरेका पसललाई छिट्टै नवीकरण गर्न र अनुमतिविना मदिरा बिक्री गर्नेहरूलाई कानूनी दायरामा ल्याउने अनुगमन टोलीले व्यवसायीलाई सचेत गराएको छ ।
चाडपर्वको मौकामा हुने उपभोक्ता शोषणलाई नियन्त्रण गर्न गरिएको यस्तो अनुगमनले बजारमा अनुशासन कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।