दशैंलक्षित सुपथ मूल्य पसल सञ्चालनको तयारी

भाद्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
दशैंलक्षित सुपथ मूल्य पसल सञ्चालनको तयारी

काठमाडौं । सरकारले आगामी सातादेखि दशैंलक्षित सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको छ ।

देशका १ सय ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालनको तयारी भएको वाणिज्य मन्त्रालयले जनाएको हो । नागरिकलाई सहुलियतका लागि भने २ करोड ५२ लाख रूपैयाँ विनियोजन गरिएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, कर्णाली प्रदेशमा उत्पादन हुने चिनो तथा कागुनो सुपथ मूल्य पसलमा उपलब्ध हुने जनाएको छ । 

बाहिरका पसलमा भन्दा सस्तोमा सामान उपलब्ध गराइने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अधिकारीहरूको भनाइ छ । सरकारी स्वामित्वकै साल्ट ट्रेडिङले पनि काठमाडौं उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनको तयारी गरेको जानकारी दिएको छ । 

यस्तै दुग्ध विकास संस्थानले पनि संस्थानले उत्पादन गरेका दुध, दही र घीउलाई विशेष छुट योजनामा विक्री गर्न लागेको जनाएको छ । सरकारी स्वामित्वका संस्थानहरुले कालोबजारी रोक्नका लागि सहुलियत पसल सञ्चालनको तयारी गरिएको जनाएका छन् । तर यी संस्थानले दिने सहुलियत र सुपथ पसल संख्या निकै न्युन हुने गरेको उपभोक्ताकर्मीहरूको भनाइ छ । 

देशभर १ सय हाराहारीमा पसल सञ्चालन गरेर बजार हस्तक्षेप नपुग्ने उनीहरू बताउँछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.