मुस्ताङमा स्याउ सिजन सुरू, बजारमा मूल्य चुलियो

भाद्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
मुस्ताङमा स्याउ सिजन सुरू, बजारमा मूल्य चुलियो

मुस्ताङ । परिपक्व हुँदै गएपछि मुस्ताङी स्याउ बजार झर्न थालेको छ । छिटो पाक्ने उच्च घनत्वमा आधारित हाइब्रिड गाला, किङरोट र स्थानीय गोल्डेन स्याउ भदौ १० गतेदेखि नै बजार आइपुगेको हो ।

स्याउ जोन कार्यालय मुस्ताङका अनुसार स्याउको गुणस्तर मापन गर्दा न्यूनतम मापदण्ड १२ प्रतिशतभन्दा बढी गुलियोपना देखिएपछि स्याउ बजार पठाउन उपयुक्त मानिन्छ । 

यस वर्ष कम फलेका कारण मुस्ताङी किसानले स्याउको मूल्य अत्यधिक बढाएका छन् । यस वर्ष बगानमै हाइब्रिड स्याउप्रति केजी २ सय ५० रूपैयाँ पुगेको छ ।मुस्ताङ स्याउको सिजन सुरु भएसँगै व्यापारीहरू पैसा बोकेर बगैँचामै पुगेका छन् । 

व्यापारीले बोलकबोलबाट बगान नै ठेक्का लिने गरेकोले बगानमै स्याउको मूल्यमा एकरूपता छैन । कृषि ज्ञान केन्द्र मुस्ताङको अभिलेखअनुसार मुस्ताङका किसानले गत वर्ष स्याउ बिक्री गरी ९२ करोड रुपैयाँ आम्दानी गरे । 

जसमध्ये ८२ करोडको स्याउ पोखरा, काठमाडौंलगायतका बजारमा पुग्यो भने बाँकी १० करोडको स्याउ मुस्ताङ भ्रमणमा आएका पर्यटकलाई बिक्री गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.