कञ्चनपुर । नेपालको खेती प्रणाली अझै परम्परागत नै छ । सरकारले कृषिमा आधुनिकीकरण र यान्त्रीकरणको अभियान थाले पनि सरकारी नीति कै कारण कृषि क्षेत्र प्रविधिमैत्री बन्न सकिरहेको छैन । तर विश्वबजारमा भने खेतीमा ड्रोनको प्रयोगसमेत व्यापक भइसकेको छ ।
खेतमा बीउ, मल र विषादी छर्किनेदेखि बालीको निगरानी गर्नेसम्मको काम सजिलो बनाउने यो प्रविधि नेपालमा भने कानुनी र नीतिगत जटिलतामा अडि्कएको कृषिमा आधुनिकीकरण र यान्त्रीकरणको अभियानलाई गति दिँदै, आर्थिक वर्ष २०७९/०८० मा कृषि निर्देशनालय दिपायलले कञ्चनपुरको बेलौरीस्थित वडायक कृषि फर्ममा ड्रोन प्रविधि हस्तान्तरण गरेको थियो ।
आधुनिक यन्त्रको प्रयोगमार्फत किसानको श्रम, समय र खर्च घटाउँदै उत्पादन बढाउने उद्देश्यले ६५ प्रतिशत लगानी कृषि निर्देशनालयको र ३५ प्रतिशत लगानी वडायक कृषि फर्मको गरी जम्मा १० लाखमा यो ड्रोन प्रविधि भित्र्याइएको हो ।
यद्यपि कृषि क्षेत्रमा ड्रोन प्रविधिको प्रयोगका लागि कानुनी र नीतिगत झन्झटका कारण निक्कै बढी समय लागेको देखिन्छ । यो समस्या कृषि क्षेत्रको लागि बाधक बन्न पुगेको छ ।
ड्रोन प्रविधिको प्रयोगले यस क्षेत्रका किसानहरूले कृषिमा आधुनिकीकरण र यान्त्रीकरणको प्रयोगमा बढोत्तरी ल्याउने अपेक्षा गरिएको छ । विशेष गरी युवा पुस्तामा ड्रोन प्रविधि आकर्षणको केन्द्र बन्न सक्छ ।
ड्रोनबाट मल तथा विषादी छर्ने, बीउ छर्ने, बालीको अवस्थाको निगरानी गर्ने कार्यहरू सहज, छरितो र सस्तो हुने अपेक्षा गरिएको छ । विशेष गरी कृषि श्रमिक अभाव, महंगी र जलवायुको जोखिमपूर्ण अवस्थाबीच ड्रोन प्रविधिले समय र श्रमको बचत मात्र होइन, उत्पादनमा गुणात्मक वृद्धि पनि ल्याउने सम्भावना बोकेको छ ।
बेलौरीमा ड्रोन प्रविधि भित्रिसकेपछि यसको प्रयोगमा सहजता ल्याउन र समावेशी वितरणका लागि नगरपालिकाले समेत अग्रसरता देखाएको छ । स्थानीय तह र कृषकहरूको माग बमोजिम ड्रोन प्रविधि भित्र्याइएको भए पनि कानुनी अस्पष्टताका कारण यसको प्रयोगमा ढिलाइ भएको देखिन्छ ।
नेपालमा ड्रोन उडाउने सम्बन्धी स्पष्ट, व्यवहारिक र कृषि केन्द्रित नीति नहुँदा धेरै स्थानीय तह तथा किसान-कृषि संस्थाहरू प्रयोग गर्न नपाई रोकिएका छन् । हाल नेपालमा ड्रोन उडाउनका लागि नागरिक उड्डयन प्राधिकरणबाट पूर्व अनुमति आवश्यक पर्छ । तर कृषि प्रयोजनका लागि तत्कालीन आवश्यकताअनुसार अनुमति प्राप्त गर्न कठिन हुनु, तालिमको अभाव, सर्भिस मर्मत सुविधा नहुनु र सीपयुक्त जनशक्ति नहुँदा यो प्रविधिको प्रभावकारी विस्तारमा चुनौती थपिएको छ ।
ड्रोन प्रविधिको प्रयोगले कृषि क्षेत्र प्रविधिमैत्री बन्दै गएको सङ्केत देखाएको छ । यद्यपि यसका नीतिगत र कानुनी अप्ठेराहरूलाई सहजीकरण गर्दै लैजानु पर्ने आवश्यकता देखिन्छ ।