काठमाडौं । सामसङले आफ्नो प्रमुख सीएसआर पहल, सामसङ इनोभेसन क्याम्पस अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका त्रिविअन्तर्गत इन्जिनियरिङ क्याम्पसका ५६ विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ।
त्रिविका उपकुलपति प्रा डा दीपक अर्याल, पुल्चोक क्याम्पस प्रमुख सञ्जय उप्रेती तथा इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा डा सुशील बज्राचार्यको उपस्थितिमा विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
यसका साथै अब नयाँ ब्याचको एआई तथा बिग डाटा तालिम पनि सुरु हुने जनाइएको छ । सामसङ नेपाल कार्यालयका मानवश्रोत प्रबन्धक जयन्तमणि कायस्थले सामसङ इनोभेसन क्याम्पसले नेपाली युवालाई भविष्यमुखी सीपहरूले सशक्त बनाउँदै आएको उल्लेख गर्दै त्रिविसँगको सहकार्यमा एआइ, बिग डाटा र आइओटीको तालिमलाई अझ बलियो बनाउने र विद्यार्थीहरूलाई भविष्यको रोजगारीको लागि तयार गर्ने लक्ष्य राखेको बताउनुभयो ।
२०२२ डिसेम्बरमा त्रिविमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई एआइ, आइओटी, बिग डाटा र कोडिङ र प्रोग्रामिङमा तालिम दिँदै आएको छ । एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञानको आधारमा विद्यार्थी छनोट गरिन्छ।