वैदेशिक रोजगारीबाट फर्किएका जीवनले बुटवलमा व्यावसायिक अम्बा खेती गर्दै

भाद्र ४, २०८२ |अमृता अनमोल
वैदेशिक रोजगारीबाट फर्किएका जीवनले बुटवलमा व्यावसायिक अम्बा खेती गर्दै

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केर के गर्ने ? विदेश छँदा कमाएको कमाएको पैसा चलाएर बाँकी जीवन व्यतीत गर्ने धेरै भेटिन्छन् । तर, बुटवलका जीवन पाण्डे व्यावसायिक अम्बा खेतीमा लागेर रेमिट्यान्सलाई पुँजीमा परिणत गर्न सफल हुनुभएको छ ।

जीवननारायण अर्थात् जीवन पाण्डे करिब १२ वर्ष वैदेशिक रोजगारीमा कोरिया बस्नुभयो । कोरियामा उहाँले निर्माण क्षेत्रमा काम गर्नुहुन्थ्यो । उताको कमाइले घरपरिवारको अवस्था सुधारिएपछि उहाँ २ वर्षअघि कोरियाबाट फर्कनुभयो । २ तले घर बनाउनुभयो । ३ छोराछोरीको शिक्षापछि एक जनालाई अमेरिका र अर्कोलाई अष्ट्रेलिया पठाउनुभयो । 

जीवन वैदेशिक रोजगारीबाट स्वदेश फर्किएपछि उहाँले फलफूल खेती गर्ने निधो गर्नुभयो । जीवन अहिले बुटवल उपमहानगरपालिका १९ पत्थरगञ्जमा अम्बाको व्यावसायिक खेतीमा रमाउँदै हुनुहुन्छ । 

१५ महिनाअघि दुई कठ्ठा जमिनमा १ सय १० वटा बिरूवा रोपेर सुरू गरिएको अम्बा खेतीले परीक्षण चरणमै २ पटक उत्पादन दिएको छ । प्युठानबाट ५० हजार रुपैयाा बराबरका बिरूवा ल्याएर सुरू गरिएको खेतीबाट आम्दानी हुनथालेको छ । अहिले बजारमा दैनिक २० किलोसम्म अम्बा बिक्री हुन्छ ।

अम्बा उत्पादन र माग दुबै राम्रो छ । जीवन आफूले गरेको खेतीबारे अरुलाई सिकाउँदै पनि हुनुहुन्छ । व्यावसायिक अम्बा खेतीमा उहाँकी पत्नी हेमाले साथ दिनुभएको छ । २ कठ्ठामा भएको खेती विस्तार गरेर २ बिगाहामा फैलाउने योजनामा हुनुहुन्छ । त्यसका लागि सरकारी सहयोग र सहजीकरण होस् भन्ने उहाँको चाहना छ ।

वैदेशिक रोजगारीमा रहेका श्रीमान फर्केर व्यावसायिक अम्बा खेतीलाई अगाडि बढाउँदा श्रीमती हेमा सबैभन्दा धेरै खुसी हुनुहुन्छ । यो जोडीले व्यासायिक खेतीका लागि अझै प्राविधिक सीप, उपकरण र सहजीकरणको भने अभाव महसुस गरेको छ ।

पछिल्लो समय व्यवसायिक कृषिमा लाग्ने युवा घटेका छन् । उर्वर समयमा वैदेशिक रोजगारीमा जाने र फर्केर त्यही कमाएको रकमबाट गुजारा चलाउने धेरै छन् । यस्तोमा १२ वर्षसम्म कोरिया बसेर फर्केपछि व्यवसायिक अम्बा खेतीमा लागेका जीवनारायणको काम अरूले पनि अनुसरण गर्न योग्य छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।