जुम्लाबाट झण्डै ७० करोड कृषि सामग्री निर्यात

श्रावण २९, २०८२ |डीबी बुढा
जुम्लाबाट झण्डै ७० करोड कृषि सामग्री निर्यात

जुम्ला/ जुम्लाका कृषकले उत्पादन गरेका कृषि सामग्री बिक्री गरि गएको बर्ष झण्डै ७० करोड हाराहारीको कृषि सामग्री निर्यात भएको छ । कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार गतबर्ष जुम्लाले ७० करोड रुपैयाँ मुल्य बराबरको कृषि बस्तु जिल्ला बाहिर निर्यात गरेको छ । २३ हजार टन कृषि उपज बाहिर जिल्ला पठाएको कार्यालय प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो ।

निर्यात भएका कृषि सामग्रीहरुमा सबैभन्दा बढी स्याउ रहेको जनाइएको छ । गतबर्ष मात्रै ६१ करोड मुल्य बराबरको स्याउ जिल्ला बाहिर पठाइएको थियो । त्यसैगरि मार्सीचामल, कोदो, ओखर, चिनोको चामल, सिमी, फापर, जौं तथा गहुँ समेत किसानले जिल्ला बाहिर लैजाने गरेका छन् । कृषि बस्तु बेच्न खलंगामै दर्जन बढि कोशेली घर खोलिएका छन् । कर्णाली घुमफिरमा निस्कने आन्तरिक तथा बाहृय पर्यटकले यहिबाट बोकेर लैजाने गरेका छन ।

प्रमुख अधिकारीले भने, “बजारको सहज पहुँच, सञ्चार सुविधा र सडक सञ्जालको विस्तार संगै कृषि उपजको माग र मुल्य दुबै बढिरहेको छ तर भण्डारण सुविधा, प्रशोधन केन्द्र र मुल्य स्थायित्वको चुनौति भने कायमै छ ।”

गत बर्ष स्याउको उत्पादन २१ हजार टन थियो । नौ हजार ३३१ टन स्याउ जिल्ला बाहिर निर्यात भयो । कृषि कार्यालयको तथ्यांक अनुसार जुम्ली किसानले दुई हजार ५९० किलो ओखर, ५५ हजार ८०९ किलो सिमी, दुई हजार ९१३ किलो भटमास, ९० हजार ६६० किलो आलु जिल्ला बाहिर पठाएका थिए ।

११ हजार ५५५ किलो मार्सी चामल, ९५० किलो चिनो चामल, ७९० किलो कागुनो चामल, ६ हजार १५० किलो फापरको पिठो, १६ हजार चार सय किलो कोदोको पिठो र १० हजार ४५० किलो जौं को पिठो समेत निर्यात भएको कृषि कार्यालयले तथ्यांकमा समावेश गरेको छ ।

निरन्तर बर्षा, असिनापानी, बाढीपहिरो र सुक्खा खडेरीका कारण बर्षेनी कृषि उपज उत्पादनको क्षेत्र घट्दै गइरहेको छ । आर्थिकबर्ष २०७९/०८० मा ३० हजार ८ सय २८ टन खाद्यान्न बाली उत्पादन भएको थियो । २०८०/८१ मा ३२ हजार ८४५ टन र २०८१/८२ मा २४ हजार २३१ टन खाद्यान्न उत्पादन भएको हो । स्याउको भने हरेक बर्ष उत्पादन बढिरहेको छ ।

आर्थिक बर्ष २०७८/७९ मा १६ हजार टन स्याउ भएकोमा २०७९/०८० मा १८ हजार टन, २०८०/८१ मा १९ हजार ८४० टन उत्पादन भएको थियो । चार वर्षयताकै सबैभन्दा बढी उत्पादन २०८१/८२ मा २१ हजार २७० टन स्याउ फलेको थियो ।

स्याउ किसान रतनबहादुर रावत ढुवानी गर्ने सडक कच्ची हुँदा लाखौंको कृषि उत्पादन बाटोमै कुहिले र खेर जाने गरेको बताउने गर्छन् । उनले भने, “किसानको उत्पादन हरेक बर्ष बढ्दै गइरहेको छ । उचित बजार, मुल्य र ढुवानी गर्ने सडक कमजोर हुँदा निकै ठुलो समस्या बेहोर्नु परिरहेको छ ।”


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।