काठमाडौं । सहकारी ठगी आरोपमा फरार रूपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक केसीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीको समन्वयमा प्रहरी वृत्त भक्तपुरको टोलीले केसीलाई बुधबार मध्यपुर ठिमीबाट पक्राउ गरेको हो । दोलखाको मेलुङ गाउँपालिकाका ३४ वर्षीय केसी वैशाखमा ठगीमुद्दा लागेदेखि फरार थिए ।
केसीले सिद्धार्थनगर नगरपालिका-५ मा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीको ५ करोड ९० लाख ८४ हजार रूपैयाँ ठगी गरेको प्रहरीको आरोप छ। रूपन्देहीका प्रहरी प्रवक्ता गणेश सापकोटाका अनुसार बचतकर्ता तथा शेयरधनीहरूले अध्यक्ष केसीविरूद्ध सहकारी ठगीमा मुद्दा दर्ता गराएका थिए।
आरोपीलाई भैरहवा पुर्याए जिल्ला अदालतमा पेस गरी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । रूपन्देहीको तिलोत्तमामा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाले १२ करोड हिनामिना र २५ करोड रूपैयाँ अपचलन गरेको पुष्टि भएको छ ।
तिलोत्तमामा रहेको यस सहकारीमा ८५ करोड रूपैयाँ नीतिगत अपचलन भएको छ । सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापकले रकम हिनामिना गरेको उजुरीपछि सत्यतथ्य पत्ता लगाउन ७ जना स्वतन्त्र लेखापरीक्षकहरू दुई साता अघिदेखि लेखापरिक्षणमा खटिएका थिए ।
उनीहरूले बुधबार अन्तिम प्रतिवेदन तयार गरी कार्यसमितिलाई बुझाएका हुन् । कार्यसमितिले उक्त लेखा परिक्षण रिपोर्ट प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा पठाएको छ । अब प्रदेश सहकारी रजिष्टार कार्यालयले लेखा परीक्षण प्रतिवेदन अध्ययन गरेपछि थप कारबाही अघि बढ्ने छ ।
बचतकर्ताले हिनामिना गरेको उजुरी गर्नथालेपछि गत असार १७ गतेदेखि सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री फरार छन् । व्यवस्थापक वसन्त पराजुलीलाई भने रूपन्देही प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरू बचत फिर्ता गर्न माग गर्दै दिनहुँ प्रदर्शन गरिरहेका छन् ।