तातोपानी भन्सार लगातार भन्सार लक्ष्य पूरा गर्न असफल, बारम्बार अवरूद्ध हुने राजमार्ग मुख्य चुनौती

श्रावण १५, २०८२ |कमला पाख्रिन
तातोपानी भन्सार लगातार भन्सार लक्ष्य पूरा गर्न असफल, बारम्बार अवरूद्ध हुने राजमार्ग मुख्य चुनौती

सिन्धुपाल्चोक । विगत केही वर्षदेखि तातोपानी भन्सार तथा सुक्खा बन्दरगाहले राजश्व लक्ष्य पूरा गर्न सकेका छैनन् । 

गत आर्थिक वर्षमा त बाह्रबिसे-तातोपानी सडक खण्डको २६ किलोमिटर सडक करिब ८० दिन बन्द भयो । यसले सामान आयात अवरूद्ध हुँदा राजश्व संकलनको लक्ष्य पूरा गर्न कठिन भएको हो ।

नेपाल-चीन छोटो दूरीको मार्ग मानिने तातोपानी भन्सार कार्यालयले पछिल्ला आर्थिक वर्षहरूमा लगातर अर्बौ राजश्व गुमाउँदै आएको छ । नाका क्षेत्रमा पटकपटक बाढी, सडक भासिने र पुल बगाएका घटनाले व्यापारिक गतिविधिमा गम्भीर असर परेकाले नेपाल-चीन व्यापारले गति लिन नसकेको व्यवसायी बताउँछन् ।

गत आर्थिक वर्षमा २१ अर्ब ७३ करोड राजश्व सङ्कलनको लक्ष्य राखेकोमा १८ अर्ब ८६ करोड रूपैयाँ संकलन भयो । यो लक्ष्यको ८६ दशमलव ७८ प्रतिशत हो। झण्डै तीन महिना पटकपटक अवरूद्ध भएको सडकका कारण कार्यालयको कार्यसम्पादनमा समस्यासँगै नाकाबाट व्यवसायीले सामान आयात गर्न नसक्दा भन्सारले २ अर्ब ८७ करोड राजश्व लक्ष्य पूरा गर्न सकेन ।

तातोपानी भन्सार कार्यालयले पछिल्ला वर्षहरूमा लगातार राजश्व लक्ष्यअनुसारको पूरा गर्न नसक्दा मुलुकको समग्र राजश्व लक्ष्य प्रभावित भएको छ। चालु आर्थिक वर्षमा यो भन्सार कार्यालयले २४ अर्ब ४७ करोड रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।