सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्ममा पनि सकिँदैनः प्रधानमन्त्री ओली

श्रावण १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्ममा पनि सकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्ममा पनि नसकिने स्थिति रहेको बताउनुभएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काममा ढिलासुस्ती गर्दा यो अवस्था आएको भन्दै आफूले बारम्बार बैठक बोलाएर छिटो काम सम्पन्न गर्न निर्देशन दिएको पनि बताउनु भयो । 

तीन वर्षसम्म सकिसक्नुपर्ने आयोजना ६ वर्ष भइसक्दा समेत नसकेको स्थिति रहेको उहाँकाे भनाइ छ । उहाँले अहिले जलवायु परिवर्तनको कारण अनौठो समस्या आइरहेको बताउनु भयो । 

अन्नको भण्डार तराईमा वर्षा नहुँदा हालसम्म ५० प्रतिशत भन्दा बढी रोपाईं हुन नसकेको उहाँले बताउनु भयो । देशभरमा अहिलेसम्म २५ लाख हेक्टर सिंचाईयोग्य जमिनमा १५ लाख हेक्टरमा मात्रै सिंचाई पुर्याएको उहाँले जानकारी दिनु भयो । 

सबै महिना सबै सिजनमा खेती लगाउन सकिने गरी ५ लाख हेक्टरमा मात्रै सिंचाईको सुविधा रहेको उहाँले बताउनु भयो । सबै महिनामा सिंचाई पुर्याउन अब पाँच गुणा बढी मेहनत गर्नुपर्ने र अरू ४० प्रतिशत मेहनत सिजनल सिंचाईका लागि पनि गर्नुपर्ने अवस्था रहेको उहाँकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीले साउन १५ लाई सबै नेपालीले खुशीसाथ मनाउने गरी आगामी दिनमा वातावरण मिलाउनुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.