‘बैंकिङ क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्छ’

श्रावण ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘बैंकिङ क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्छ’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानाले आगामी दिनमा बैंकिङ क्षेत्रलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान)द्वारा आइतबार आयोजित ‘इमान संवादः फ्युचर अफ बैंकिङ’ छलफलमा उहाँले बैंकिङ क्षेत्रलाई आधुनिक प्रविधिमैत्री, पारदर्शी र जनता केन्द्रीत बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरूस्त बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “डिजिटल वित्तीय सेवाको द्रुत विकास र ग्राहकमैत्री प्रणालीको विकासले बैंकिङ क्षेत्रको भविष्य निर्धारण गर्नेछ ।”

इमानका अध्यक्ष रोयल आचार्यले बैंकिङ प्रणालीको विकासमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहने बताउँदै सबैले आफ्ना भूमिका निष्पक्ष भएर निर्वाह गर्नुपर्ने बताउनुभयो । इमान संवादले नीति निर्माता, नियामक निकाय र सरोकार भएका निकायबीच पुलको रूपमा काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

इमानद्वारा आयोजित ‘इमान संवाद’ लाई आगामी दिनमा अर्थतन्त्रका विविध पक्ष समेट्दै नियमित सञ्चालन गरिने जनाउँदै उहाँले कार्यक्रममार्फत अर्थसम्बन्धी विभिन्न क्षेत्रका समस्या तथा समाधानका उपायसहित आवश्यक सुझाव आदानप्रदान गर्ने मञ्चका रूपमा विकास गर्दै जाने बताउनुभयो ।

आज बैंकिङ प्रणालीको भविष्य, डिजिटल प्रविधि र वित्तीय सुरक्षाबारे छलफल गर्नुका साथै अर्थतन्त्रका विविध पक्षका बारेमा सुझाव आदानप्रदान गरिएको थियो ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.