सुख्खाग्रस्त मधेसको सरकारी अध्ययन टोली भन्छः चैत यता ३ सय डिप बोरिङ खनियो, प्रभावकारी भएन

श्रावण ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुख्खाग्रस्त मधेसको सरकारी अध्ययन टोली भन्छः चैत यता ३ सय डिप बोरिङ खनियो, प्रभावकारी भएन

काठमाडौं । विपद् संकटग्रस्त क्षेत्र मधेस प्रदेशका विभिन्न जिल्लामा चैत्र यता सिंचाईका लागि तीन सय वटा डिप बोरिङ खनिएको भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको देखिएको छ ।

विशेष गरेर सामुदायिक उपभोक्ता समितिमार्फत गरिएका काममा प्रभावकारिता र स्थायीत्वको समस्या देखिएको हो । मधेस प्रदेशको स्थलगत अध्ययनमा रहेको अन्तरमन्त्रालय स्तरको अध्ययन कार्यदलले मुख्य सचिव एकनारायण अर्याललाई आइतबार प्रारम्भिक जानकारी गराउने क्रममा यस्तो बताएको हो । 

त्यसैगरी विभिन्न स्थानमा सिंचाई प्रयोजनका बोरिङ सञ्चालनमा प्रयोग भएका ५० वटा ट्रान्सफर्मर चोरी भएको पनि प्रारम्भिक अध्ययनमा देखिएको छ । केही स्थानमा भोल्टेजको स्थायित्व नभएका कारण प्रयोग हुन नसकेर सिंचाई हुन नसकेको पनि टोलीले निष्कर्ष निकालेको छ । 

मुख्यसचिव अर्यालले आज आफ्नै कार्यालयमा मधेस प्रदेशमा परिचालन भएको टोलीसहित सबै मन्त्रालयका सचिवहरूसँग पछिल्लो अवस्था र अध्ययनको प्रारम्भिक जानकारीबारे छलफल गर्नुभएको छ । छलफलपछि कुराकानी गर्दे उहाँले एकीकृत प्रतिवेदन प्राप्त भएपछि सरकार एक्सनमा जाने बताउनु भयो ।

सरकारले मधेस प्रदेशमा खडेरीका कारण देखापरेको समस्याको स्थलगत अध्ययन मन्त्रालयस्तरको प्राविधि टोली खटाएको थियो । खानेपानी, उर्जा जलस्रोत तथा सिंचाई र कृषि तथा पशुपंक्षी मन्त्रालका सहसचिव सम्मिलित टोली समस्याग्रस्त प्रदेशमा गई अध्ययन गरेर फर्किएको छ । 

सो टोलीले आज मुख्य सचिवलाई स्थलगत अध्ययनको क्रममा देखिएका अवस्थाबारे मौखिक जानकारी गराएको छ । साथै मुख्यसचिवले सबै मन्त्रालयका सचिवहरूसँग पनि छलफल गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.