विदेशिएका श्रीमान, उद्यमी श्रीमती : गंगाको ढाकाले जोडियो तराईमा घडेरी

असार ३२, २०८२ |माधव अर्याल
विदेशिएका श्रीमान, उद्यमी श्रीमती : गंगाको ढाकाले जोडियो तराईमा घडेरी

पाल्पा । मुलुकभित्र जति दुःख गरे पनि बचत गर्नसक्ने अवस्था नभएपछि धेरै परिवारको आम्दानीको मुख्य स्रोत रेमिट्यान्स बनेको छ । तिनैमध्येका एक हुनुहुन्छ पाल्पाको तानसेनका एकबहादुर गाहा । एकबहादुरले पठाएको रेमिट्यान्सले घरव्यवहार मात्र धानिएको मात्रै छैन तराईमा घडेरीसमेत जोडिएको छ ।

तानसेन नगरपालिका-७ कुन्सरेमा बस्दा नगद आर्जनको बाटो नभेटेपछि एकबहादुरले १० किलोमिटर टाढाको तानसेनमा किराना तथा तरकारी पसल गर्नुभयो, संघसंस्थामा पनि काम गर्नुभयो । तर आम्दानी भन्दा खर्च धेरै हुने भएपछि घर व्यवहारसमेत बिग्रदै गयो । 

दुईजना छोरीको जिम्मेवारी पूरा गर्न मुस्किल भएपछि ऋणधन गरेर एकबहादुर वैदेशिक रोजगारीमा कतार जानुभयो । मेनपावरको ठगीले समस्या निम्तिादा ४ वर्षपछि फर्केर फेरि मलेशिया जानुभयो । 

मलेसियामा पनि उहाँले भनेको काम त पाउनुभएन तर विस्तारै नियमित पैसा पठाउन थालेपछि घरव्यवहार सुध्रिँदै गयो । अहिले श्रीमती गंगाले तानसेनमा ढाका कपडा बुनेर घर खर्च जुटाउनुहुन्छ भने एकबहादुरले मलेसियाबाट मासिक ४० हजारभन्दा बढी पठाउनुहुन्छ ।

श्रीमान्ले पठाएको पैसा बचत गरेर गंगाले तराईमा दुईवटा घडेरी जोडिसक्नुभएको छ । गंगाले ढाका कपडा उद्योगमा अहिले सारी, चोलो, टोपीका कपडा बुन्नुहुन्छ । ढाका बुन्न थालेपछि कमाई राम्रै हुने भएकाले अचेल श्रीमानले पठाउने पैसा उहाँ चोखै बचत गर्नुहुन्छ । फुर्सदमा ढाका बुनेर पनि राम्रै आयआर्जन गरेको देखेर उहाँका साथी र छरछिमेक पनि खुशी छन् ।

श्रीमान वैदेशिक रोजगारीमा गए पनि श्रीमतीले यता घरमा कुनै न कुनै उद्यम, व्यापार वा सीप सिकेर काम गर्ने हो भने गंगा र एकबहादुरको जस्तै जीवनस्तर बदल्न सहयोग पुग्ने देखिन्छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।