झापा । पूर्वी पहाडका अलैँची उत्पादक किसानले झापाको बिर्तामोडमा रहेको सङ्कलन केन्द्रसम्म अलैँची ल्याउन कठिनाइ भएको गुनासो गरेका छन् ।
शनिबार झापामा सुरू भएको नेपाल अलैंची व्यवसायी महासंघको पाँचौ अधिवेशन तथा नवौं वार्षिक साधारणसभामा सहभागी किसानले प्रहरी प्रशासनले सवारीसाधन र सामान ढुवानी ट्रायाकिङ प्रणाली भीसीटीएसको नाममा दुख दिने गरेको गुनासो गरेका हुन् ।
त्यसैले राम्रो मूल्य नपाए पनि स्थानीय बजारमा नै बिक्री गर्नुपरेको बाध्यता उनीहरूले सुनाए । अलैँची कृषिउपज भएकाले किसानसँग पान नम्बर हुँदैन । पान नम्बर नभएको सामान बोकेको सवारीसाधान भीसीटीएसमा दर्ता नहुने भएकाले व्यवसायीले अलैँची ढुवानी गर्दा भीसीटीएस खारेज गर्न माग गरेका छन् ।
नेपालमा हाल १७ हजार हेक्टरमा अलैंची खेती हुने गरेको छ । वार्षिक ८ हजार मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ । ५ प्रतिशत स्वदेशमै खपत हुने अलैँची ९५ प्रतिशत निर्यात हुन्छ ।
वार्षिक ८ अर्ब रूपैयाँ अलैँचीले भित्राउने गरेको भन्सारको तथ्याकं छ । कुल राष्ट्रिय उत्पादनको ८५ प्रतिशत कोशी प्रदेशका पहाडी क्षेत्रमा हुन्छ । किसानले खेती विस्तार र रोगको उपचारमा ध्यान दिन पनि कोशी प्रदेश सरकारसँग माग गरेका छन् ।
तर अलैँचीको मूल्य भने विगतका वर्षहरूमा भन्दा यसपटक राम्रो रहेको छ । 'क' श्रेणीको अलैँची प्रतिमन ९० हजारसम्ममा किनबेच भइरहेको छ ।