धनकुटा । धनकुटा नगरपालिकाले भाखा नाघेको ऋण असुली गरी बचतकर्ताको रकम फिर्ता गर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ ।
सहकारी संस्थाले प्रवाह गरेको कर्जाको साँवा ब्याज असुल नहुँदा बचतकर्ताहर" समस्यामा परेको भन्दै नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर धनकुटा नगरपालिकामा सञ्चालित सहकारी संस्थालाई यस्तो निर्देशन दिएको हो ।
बचतकर्ताहरूले सहकारी संस्थामा आफूले जम्मा गरेको साँवाब्याज फिर्ता नभएको भन्दै बारम्बार ताकेता गरिरहेका छन् । तर सहकारी संस्थाका सञ्चालकहरूले भने लगानी नउठ्दा बचतकर्ताको साँवाब्याज फिर्ता गर्न नसकिरहेको बताउने गरेका छन् ।
नगरपालिकाले सहकारी संस्थाबाट प्रवाह भएको ऋण असुलीका लागि सञ्चालक समितिबाट विशेष समिति र कार्ययोजना बनाई साउन १५ गते भित्र पेस गर्न भनेको छ ।
यस्तै ऋण नतिर्ने ऋणी सदस्यलाई ३५ दिन भित्र साँवाब्याज भुक्तानी गर्न सार्वजनिक सूचना जारी गर्न, नियमानुसार धितो लिलामको प्रक्रिया अघि बढाउन, लिएको ऋणअपचलन गर्ने, समयमा साँवाब्याज नबुझाउनेको कालो सूची तयार गर्न निर्देशन दिएको हो ।
यस्तै निर्देशनअनुसार नगर्ने सहकारी संस्थालाई धनकुटा नगरपालिका सहकारी ऐन २०७५ को दफा ७५ अनुसार कारबाही हुने धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत दशरथ राइले बताउनु भयो ।