रेमिट्यान्सले अशोक पर्वतेको जीवनमा ल्याएको परिवर्तन

असार २५, २०८२ |आनन्द गौतम
रेमिट्यान्सले अशोक पर्वतेको जीवनमा ल्याएको परिवर्तन

ताप्लेजुङ । २०६१ साल मंसिर महिनामा मिक्वाखोला गाउँपालिका ४ साँवाबाट परिवार बसाइँ सरेर सदरमुकाम फुङ्लिङ नजिकैको दोखुमा आउँदा अशोक पर्वते १६ वर्षको हुनुहुन्थ्यो । त्यहाँ बसेर दुई वर्षसम्म अशोकले बाबुलाई आरनमा खुकुरी बनाउन सघाउनुभयो । तर त्यसले गुजारा चल्ने नदेखर उहाँ वैदेशिक रोजगारीमा कतार जानुभयो ।

विदेशमा रहेका जेठा र माइला दाजुले पठाइदिएको पैसाले पनि नपुगेपछि अशोकलाई बुबाले ऋण खेाजिदिएर विदेश पठाउनुभयो । १ लाख २० हजार रूपैयाँ तिरेर अशोक वैदेशिक रोजगारीका लागि कतार उड्नुभयो । अर्काको जग्गा अधियाामा कमाएर बसेका बाबुलाई ऋणमा पारेर हिँडेका अशोकलाई त्यो ऋण तिर्नु मात्रै थिएन घरपरिवारका लागि पैसा पठाउनु पनि थियो । सुरुमा ऋण तिरेर उहाँले केही पैसा बचत गर्दै तीन वर्षपछि स्वदेश फर्किएर फुङलिङ नगरपालिका ९ हाङदेवाकी पार्वता विश्वकर्मासँग विवाह गर्नुभयो ।

विवाह गरेको छ महिनापछि फेरि उहााँकतार जानुभयो । तर एक वर्षमै कम्पनी टाट पल्टिएपछि घर फर्किनुभयो । यतिबेलासम्म उहाँले जसोतसो घर बनाउनुभइसकेको थियो । परिवार बढ्दै जाँदा खर्चले नपुग्ने भएपछि उहाँ फेरि दुबइ जानुभयो ।

अशोका छोराछोरी अहिले राम्रो विद्यालयमा पढिरहेका छन् । वैदेशिक रोजगारीमा रहेका तीनभाइ मिलेर बाआमाको लागि घर र १४ रोपनी जग्गा किनिदिएका छन् । अशोकले आफ्नो लागि छुट्टै पाँच रोपनी जग्गा जोडनुभएको छ । श्रीमती पार्वताले गाई, खसीबाख्रा पालेर आयआर्जन गर्नुहुन्छ । अशोक दम्पतीले रेमिट्यान्सबाट झापाको बिर्तामोड बजार नजिकै घडेरी जोडेका छन् । हाल मलेसिमाया रहेका अशोक दुईदुई वर्षमा घर आउजाउ गर्नुहुन्छ ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।