काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल-चीन व्यापारको मुख्य नाका रसुवागढी अवरुद्ध भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा यो नाकामार्फत् करिब ८२ अर्बको कारोबार भएको छ । नेपाल-चीन सीमामा रहेको मितेरी पुल बगाउँदा व्यापार मात्रै ठप्प भएको छैन, रसुवागढीको सुक्खा बन्दरगाहमा राखिएका कन्टेनर र गाडी समेत नदीले बगाएको छ ।
साथै रसुवागढी तथा त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनामा क्षति हुँदा २५० मेगा वाट बराबरको बिजुली उत्पादन समेत प्रभावित भएको छ ।
सोमबार राति आएको भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि वार्षिक अर्बौंको कारोबार हुने नाका अवरुद्ध भएको छ । यो नाकाबाट चालु आर्थिक वर्षको जेठसम्ममा ८० अर्बको सामान आयात भएको छ भने १ अर्ब ९६ करोडको निर्यात भएको छ । रसुवागढीमा सन् १९६४ मा बनेको मितेरी पुल २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि अर्काे निर्माण गरिएको थियो ।
बाढीले रसुवागढीको सुक्खा बन्दरगाहमा राखिएका करिब ८० वटा कन्टेनर तथा गाडी बगाएको प्रारम्भिक अनुमान छ । केही कन्टेनर डुबेका छन् ।
बाढीले रसुवागढी जलविद्युत् आयोजनासहित त्रिशूली-थ्री ‘ए’, त्रिशूली, चिलिमे र बेनीघाट जलविद्युत् आयोजना प्रभावित भएको विद्युत प्राधिकरणले जनाएको छ । यस्तै, १११ मेगा वाट क्षमताको रसुवागढी आयोजनाको बाँधमा समेत क्षति पुगेको छ । जसबाट अहिले विद्युत् पूर्ण रूपमा उत्पादन बन्द भएको छ । ६० मेगा वाट क्षमताको त्रिशूली-३ ‘ए’, २२ मेगा वाटको चिलिमे, २१ मेगा वाट क्षमताको त्रिशूली र १५ मेगा वाट क्षमताको बेनीघाट जलविद्युत् आयोजनाको पनि उत्पादन प्रभावित भएको छ । त्रिशूली-३ ‘ए’ आयोजनाको भवनमा बाढी पसेको छ । यसबाट कुल २५० मेगा वाट बराबरको विद्युत् उत्पादन प्रभावित भएको छ ।
चिलिमे जलविद्युत आयोजनामा पनि पानी निष्कासन हुने भागमा ठूलो मात्रामा लेदो पसेको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजना बन्द भए पनि देशभर विद्युत्को माग व्यवस्थापनमा कुनै समस्या नहुने दाबी गर्नुभएको छ । रसुवागढी जलविद्युत् आयोजनामा पुगेको क्षतिको प्रभाव शेयर बजारमा समेत परेको छ ।
रसुवागढी हाइड्रोपावरको शेयर मूल्य आज सबैभन्दा बढी अर्थात ५ प्रतिशतले घटेको छ ।