काठमाडौं । उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । सहमतिपछि आन्दोलनरत चिकित्सकहरूले बुधबारदेखि गर्ने भनेको हडताल फिर्ता लिएका छन् ।
स्वास्थ्य मन्त्रालयमा आज साँझ भएको वार्तामा उपभोक्ता अधिकार ऐन फास्ट ट्रयाकबाट संशोधन गर्ने आश्वासन सरकारी पक्षले दिएपछि चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका हुन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुनमन्त्री अजय चौरसिया, उद्योगमन्त्री दामोदर भण्डारी र चिकित्सक संघका पदाधिकारीबीच आज दिउँसो भएको अनौपचारिक छलफलपछि दुवै पक्ष वार्तामा बसेका थिए ।
उपभोक्ता अदालतको फैसलाविरुद्ध आकस्मिकबाहेकका सेवा ठप्प पारी चिकित्सक आन्दोलनमा उत्रिएपछि वार्ताको पहल भएको हो ।
अत्यावश्यक क्षेत्रमा हडताल गर्न नपाइने कानुनविपरीत चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि देशभरका स्वास्थ्य संस्थाहरू प्रभावित भए ।