काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले चीनबाहेक विश्वका ५० भन्दा बढी देशमाथि लगाइने भनिएको उच्च आयात करको व्यवस्था थप केही दिनका लागि स्थगित गर्नुभएको छ ।
यद्यपि उहाँले जापान र दक्षिण कोरिया लगायतका १४ देशमाथि अझै उच्च आयात कर लगाउने चेतावनी दिनुभएको छ । यसअघि ट्रम्पले अप्रिलमा घोषणा गर्नुभएको उच्च आयात कर ९० दिन अर्थात् यही जुलाई ९ सम्मका लागि स्थगित गर्नुभएको थियो । ट्रम्पले सो समयसीमा अगस्ट १ सम्मका लागि लम्ब्याउनुभएको हो ।
यससँगै ट्रम्पले ठूला व्यापारिक साझेदार देशहरू जापान र दक्षिण कोरियादेखि लिएर ट्युनिसिया र लाओस जस्ता सानो व्यापारकर्ता देशका शीर्ष नेताहरूलाई पत्र पठाएर अगस्ट १ देखि अमेरिका भित्रिने सामानमा २५ देखि ४० प्रतिशतसम्मको कर लगाउने चेतावनी दिनुभएको छ ।
पत्रमा ट्रम्पले व्यापार वार्तामा थप समझदारीको अवसर रहेको संकेत समेत गर्नुभएको छ । ट्रम्पले अगस्ट १ देखि जापान, दक्षिण कोरिया, ट्युनिसिया, मलेशिया र कजाकस्तानबाट आयात हुने वस्तुमा २५ प्रतिशत, दक्षिण अफ्रिका र बोस्निया एन्ड हर्जगोभिनामाथि ३० प्रतिशत, इन्डोनेसियामाथि ३२ प्रतिशत, सर्बिया र बंगलादेशमाथि ३५ प्रतिशत, कम्बोडिया र थाइल्यान्डमाथि ३६ प्रतिशत र लाओस र म्यानमारमाथि ४० प्रतिशत आयातकर लगाउने चेतावनी दिनुभएको हो ।
ट्रम्पले यसरी पठाएको पत्रमा उल्लेख गरिएको नयाँ आयात कर अप्रिलमा घोषणा गरिएको दरको तुलनामा कुनै देशमाथि त्योभन्दा बढी र कुनै कुनै देशमाथि त्यो भन्दा कम रहेको जनाइएको छ ।