अलैँची खेती बन्यो सल्यानका किसानका आम्दानीकाे आधार, सिँचाइ अभाव भने चुनौती

असार १९, २०८२ |सरिता चलाउने
अलैँची खेती बन्यो सल्यानका किसानका आम्दानीकाे आधार, सिँचाइ अभाव भने चुनौती

सल्यान । अलैँची खेती सल्यानका किसानको आम्दानीको भरपर्दो माध्यम बन्दै गएको छ । पछिल्लो समय मूल्यमा आएको वृद्धिले पनि अलैंची खेती गर्ने किसान बढेका हुन् । 

पहिले महत्व नबुझ्ने किसानले पनि हाल आफ्नाे बाँझो जमिनमा अलैची रोप्न थालेका छन् । सिद्धकुमाख गाउँपालिका-३ कालालेकका ७० वर्षीय दलबहादुर बुढाथोकीलाई पहिले अलैंचीको महत्व र खेतीबारे कुनै जानकारी थिएन । तर यसबारे जानकारी पाएपछि उहाँले १६ मुरी धान फल्ने खेतमा अहिले अलैंची खेती गर्नुभएको छ । 

यस वर्ष किलोको २५ सयका दरले उहाँले ४ लाख रूपैयाँको अलैंची बेच्नुभयो । सिद्धकुमाखकै भद्रबहादुर बुढाथोकीले पनि १२ मुरी धान फल्ने खेतमा अहिले अलैंची लगाउनुभएको छ । 

धानभन्दा अलैंचीले आम्दानी बढी दिने भएपछि उहाँले खेती विस्तार गर्नुभएको हो । यस वर्ष उहाँले २ लाखको अलैंची बिक्री गर्नुभयो । दु:ख पनि कम र बिक्रीको समस्या पनि नभएकाले यो गाउँका २५ घरपरिवार अलैंची खेतीमा लागेका छन् ।

पछिल्लो समय सल्यानका धेरै किसानले खेतबारी र खोलाखोल्सामा अलैंची खेती गरेका छन् । अहिले अलैंचीको माग धेरै छ । त्यसैले किसानहरूले अलैंचीलाई दीर्घकालीन नगदेबालीका रूपमा विकास गर्न थालेका छन् । तर सिँचाइ अभाव अलैंची खेती गर्ने किसानलाई चुनौती बनेको छ ।

कृषि विकास कार्यालयका अनुसार सल्यानमा १५ हेक्टरमा अलैंची खेती भइरहेको छ । जसबाट ९ मेट्रिकटन भन्दा बढी अलैंची उत्पादन हुन्छ । यसबाट किसानले वार्षिक १ करोड रूपैयाँ भित्र्याउने गरेका छन् । 

अहिले विशेष गरी कुमाख र सिद्धकुमाख गाउँपालिकाका क्षेत्रमा अलैंची खेती भइरहेको छ । अलैंचीले मूल्य पाएसँगै किसानको आकर्षण बढेको हो । अहिले बजारमा अलैंची प्रति किलो २५ सयसम्म पर्छ । 

उत्पादित अलैंची व्यापारीले घरमै आएर लैजाने गरेका छन । उत्पादन वृद्धि र बजार व्यवस्थापनमा ध्यान दिनसके, अलैंची किसानको दिगो आम्दानीको आधार बन्ने देखिन्छ ।

कान्तिपुर समाचारका लागि,  


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।