काठमाडौं । वैदेशिक रोजगारीमा बढी कमाइ हुने देश पठाइदिने भन्दै सप्तरीमा ठग समूहले सक्रियता बढाइरहेका छन् ।
त्यसक्रममा कञ्चनरूप नगरपालिकाका मात्रै १० जनासहित १६ जनाको झण्डै ६४ लाख रूपैयाँ ठगी गरेको भेटिएको छ । ऋण काढेर रोजगारीका लागि विदेश जान खोजिरहेका युवाहरू ठगिँदा बिल्लीबाठ मात्रै भएको छैन्, तनाव सहन नसकेर एक जनाको मृत्यु नै भएको परिवारको दाबी छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका १ बैरवाका ३० वर्षीय इसराफिल शेखले स्वदेशमा रोजगारी नपाएपछि वैदेशिक रोजगारीका लागि मौरिसस जाने निधो गर्नुभयो । काठमाडौंको मून हृयुमन रिसोर्स प्रालिका मार्केटिङ म्यानेजर, सप्तरीका स्थानीय रामकुमार भगतमार्फत इसराफिलले मौरिसस जान ३ लाख ९० हजार रूपैयाँ दिनुभयो ।
घरजग्गा धितो राखेर रकम दिएका इसराफिलको ठगीमा परेर विदेश जान नपाउँदा तनाव सहन नसकेर गत कात्तिकमा मृत्यु भएको पीडा परिवार सुनाउँछ ।
यस्तै मौरिसस पठाइदिने भन्दै कञ्चनरूप नगरपालिका १० बदगामाका २० वर्षीय रूपेशकुमार पासवानलाई पनि उनै भगतले ३ लाख ५० हजार रूपैयाँ लिएर दुई महिनासम्म दिल्लीमा बन्धकजस्तै राखे । भगतले १६ जनासँग कुवेत, मौरिसस, दुबई पठाइदिने नाममा ६४ लाख रूपैयाँ ठगी गरेको पीडितको आरोप छ ।
ठगीमा परेकाहरूले काठमाडौंस्थित वैदेशिक रोजगार विभाग पुगेर उजुरी दिँदा पनि ठोस कारबाही हुनसकेको छैन् । उनीहरूले काठमाडौं पटकपटक पुग्न थप आर्थिक भार परिरहेको हुँदा आफूहरूलाई न्याय दिलाइदिन माग गरेका छन् ।
वैदेशिक रोजगारीको नाममा यूवाहरूसित रकम उठाउने व्यक्ति रामकुमार भगतले भने आफूले जुन व्यक्तिलाई रकम दिएको हो उनी पनि फरार हुँदा समस्या भएको स्पष्टीकरण दिएका छन् ।