झापा । कोशी प्रदेश सभाका सदस्यहरूले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, प्रदेश सरकार मातहत ल्याउन पहल गर्ने बताएका छन् ।
झापाको विर्तामोडमा बिहीबार चिया तथा कफी उत्पादक किसान तथा श्रमिकहरू तथा उद्योगीहरूसँग भएको अन्तरक्रियामा प्रदेश सभा सदस्यहरूले बोर्ड प्रदेश सरकार मातहत ल्याउन पहल गर्ने बताएका हुन् ।
कोशी प्रदेशमा कुल राष्ट्रिय उत्पादनको ९८ प्रतिशत चिया उत्पादन हुन्छ । चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालय काठमाडौंमा छ । चियाको उत्पादन, बजारीकरण, रोग नियन्त्रण, प्रवर्द्धनमा समस्या भएकोले प्रदेशमातहत भए छिटो छरितो र सजिलो हुने सरोकारवालाको भनाइ छ ।
पूर्वमा उत्पादित ७० लाख केजी अर्थोडक्स र १ करोड केजी सिटिसी चिया भारत निकासी हुन्छ। ११ अर्ब रूपैयाँ बराबर कारोबार गर्ने नगदेबाली प्रवर्द्धनमा सरकारले चासो नदिएको चिया उत्पादकको आरोप छ ।
सिँचाइका लागि बिजुलीमा छुट कटौती भएको छ भने बेलामा रासायनिक मल नपाउँदा चियाको हरियो पत्ति उत्पादन घट्ने गरेको छ ।