महोत्तरी । बर्खा लागिसकेपछि पनि धानखेतीलाई पुग्ने गरी पानी नपरेपछि महोत्तरीका किसान चिन्तित भएका छन् । असार पहिलो साता नाघिसक्दा पनि पानी राम्ररी नपरेकाले कतिपय किसानले त धानको ब्याडसमेत राख्न पाएका छैनन् ।
ब्याड राखिसकेका किसान पनि पानी अपुगभएपछि पिरोलिएका छन् । असार १५ सम्ममा रोपाइँ गर्न जेठ दोस्रो साताभित्र बीउ राखिसक्नुपर्ने हो। रोपाइँ ढिलो हुँदा उत्पादन घट्ने चिन्ता किसानको छ। केही ठाउँमा बोरिङ गरिए पनि बिजुलीको पहुच नहुँदा सञ्चालन हुन नसकेको किसानको भनाइ छ ।
कृषि ज्ञान केन्द्र महोत्तरीले पनि बीउ राख्ने समयमा पानी नपरी अत्यधिक गर्मी बढ्नाले खेतीपातीमा समस्या भएको जनाएको छ। गर्मीले नदी-तलाउको सतह घटेका कारण, पम्पसेटबाट पानी तान्न नसकेर पनि किसान समस्यामा परेको केन्द्रले जनाएको छ ।
अबको एक सातासम्म पनि पर्याप्त पानी नपर्ने हो भने रोपाइँको उपयुक्त समय नै घर्किने केन्द्रले जनाएको छ । महोत्तरीमा ४० हजार ३ सय २१ हेक्टरमा धानखेती हुने गरेको छ जसमध्ये २३ हजार हेक्टरका लागि मात्रै हालसम्ब ब्याड राखिएको छ । गत वर्ष महोत्तरीमा १ लाख २४ हजार ९ सय मेट्रिक टन धान उत्पादन भएको थियो ।