साना किसानलाई उत्थान गर्न १५ अर्बको कोष भएको कार्यक्रम सुरु

असार ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
साना किसानलाई उत्थान गर्न १५ अर्बको कोष भएको कार्यक्रम सुरु

काठमाडौं । साना किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित करिब १५ अर्ब रुपैयाँ कोषको ‘उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम’ सुरु गरिएको छ । आज ललितपुरमा एक औपचारिक कार्यक्रम गरी कार्यक्रम सुरु भएको घोषणा गरिएको हो ।

कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका २१ जिल्लाका ८१ पालिकामा साना तथा सीमान्तकृत किसानको क्षमता वृद्धिका लागि कार्यक्रम केन्द्रित हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले जानकारी दिनुभयो । कुल १५ अर्बमध्ये अन्तर्राष्ट्रिय कृषि विकास कोषको ७० प्रतिशत सहुलियतपूर्ण ऋण सहयोग रहने छ । संघ, प्रदेश र स्थानीय सरकारको सहलगानी तथा सहपरिचालनमार्फत कार्यक्रम सञ्चालन हुने छ ।

नाफामूलक, समावेशी र पर्यावरमैत्री दिगो खाद्य प्रणाली अवलम्बन गरी युवा, महिला, जनजाति र आदिवासीको सशक्तीकरण गर्दै गरिबी निवारण र साना कृषकहरूको उत्थान गर्ने यस कार्यक्रमको लक्ष्य रहेको छ । कार्यक्रमको अवधि आठ वर्षको रहेको छ ।

यसै कार्यक्रमअन्तर्गत साना सिँचाइ पूर्वाधार विकास गर्ने तथा बुटवल उपमहानगरपालिकामा वृहत् कृषि बजार सञ्चालन गरी सम्भावना भएका वस्तुको निर्यात गर्ने योजना छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.