कृषियन्त्रको प्रयोगले झापाका किसानको लागत र समय घट्यो, प्रयोग विस्तारमा भने छैन प्रोत्साहन

असार ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कृषियन्त्रको प्रयोगले झापाका किसानको लागत र समय घट्यो, प्रयोग विस्तारमा भने छैन प्रोत्साहन

झापा । सरकारले कृषि यान्त्रिकरणमा लगानी बढाउने घोषणा गरेको छ । तर, कृषि यान्त्रिकरण प्रवर्द्धन नीति बनेको एक दशक नाघिसक्दा पनि आमकिसानले आधुनिक कृषियन्त्र देख्नै पाएका छैनन् । 

अझ मुख्य अन्नबाली धान रोप्नदेखि थन्क्याउँदासम्म धेरै किसानले खेतालाकै भर पर्नुपर्छ । तर, कृषि यान्त्रिकरणमा अग्रसर किसानको अनुभव भने निकै सुखद छ ।

यतिखेर झापाका किसानलाई चैते धान थन्क्याउने र बर्खे धान रोप्ने चटारो छ । चैते धान भित्र्याउने कामसँगै ब्याड राख्नेदेखि खेत जोत्ने र हिल्याउने काममा यतिबेला किसान व्यस्त भेटिन्छन् । 

पछिल्ला वर्ष कतिपय किसान भने हिलोमा पसेर दुःख गर्ने झन्झटबाट मुक्त हुँदै गएका छन् । राइस ट्रान्सप्लान्टर र कम्वाइन हार्भेस्टिङजस्ता कृषियन्त्रको प्रयोगले किसानलाई धानखेतीमा हुने हैरानीसँगै लागत पनि घटाइदिएको छ । तर, यो सुविधा बहुसंख्यक किसानसम्म अझै पुगेको छैन् ।

त्यसो त, झापाका कतिपय स्थानीय तह कृषि यान्त्रिकरणमा अग्रसर देखिन थालेका छन् । यो वर्षमात्रै भद्रपुर नगरपालिकाले दुइटा राइस ट्रान्सप्लान्टर खरिद गरेर किसान समुह र सहकारीलाई वितरण गरेको छ । यसबाट भद्रपुरका किसानले थोरै भएपनि राहत पाएको महसुस गरेका छन् ।

स्थानीय जनप्रतिनिधिहरू पनि कृषिमा खड्किएको श्रमिक अभाव पूर्ति गर्न र लागत घटाउन कृषि यान्त्रिकरणमा लगानी बढाउनै पर्ने तर्क गर्छन् ।

कृषियन्त्र खरिदमा केन्द्र, प्रदेश र स्थानीय तहबीच प्रतिस्पर्धा चल्दा पनि झापामा अहिलेसम्म ११ वटामात्र राइस ट्रान्सप्लान्टर भित्रिएका छन् । तीमध्ये अधिकांश मेचीनगरको नेपाल वहुउद्धेश्यीय सहकारीसाग छन् । 

धान खेतीमा प्रयोग हुने आधुनिक कृषियन्त्र भित्र्याएको जश लिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अधिकारीहरू भने राइस ट्रान्सप्लान्टरको प्रयोग बढ्न नसक्नुमा झापाको माटो र खेतका गह्राहरूलाई दोष दिन्छन् ।

कृषि ज्ञान केन्द्रका अधिकारीहरू अब झापाको करिब ५ सय हेक्टर खेतमा मेसिनले धान रोप्न सकिने बताउँछन् । जवकि झापामा ७५ हजार ४ सय ५९ हेक्टर जमिनमा धान खेती हुन्छ । यो तथ्यांकले झापाको एक प्रतिशत खेतमा पनि कृषियन्त्र नपुगेको देखाउँछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.